स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को सम्पूर्ण तयारी पूरा गरेको छ।
मतदानस्थलमा मोबाइल लान नपाइने
निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय निर्वाचनको मतदानस्थलमा मोबाइल, क्यामरा वा फोटो खिच्ने जस्ता अन्य कुनै पनि साधन लान नपाइने जनाएको छ ।
शान्तिपूर्ण वातावरणमा मतदान हुन्छ : मन्त्री कार्की
जयकृष्ण यादव इनरुवा, वैशाख २९ गते। नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तह निर्वाचनलाई उत्सवको रुपमा लिन आग्रह गर्नुभएको छ। मन्त्री कार्कीले विश्वसनीय, स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा मतदान हुने भएकाले निर्धक्का साथ आफूलाई मन परेको उम्मेदवारलाई मतदान गर्न अपील गर्नुभएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका १० नम्बर वडामा मतदान गर्न आइपुग्नुभएका मन्त्री कार्कीले गोरखापत्रकर्मीसँग बिहीबार कुराकानी गर्नुहुँदै देशबासीलाई निर्वाचनलाई उत्सवको रुपमा लिई सबैको सहभागितामा आफूलाई मनपरेको उम्मेदवार वा पार्टीलाई मत दिई नयाँ यात्रा विकास र समृद्धिको यात्रामा योगदान गर्न आग्रह गर्नुभयो। विकास र समृद्धिसहित संघीयताको अनुभूति गराउने यात्राका रुपमा स्थानीय तहको निर्वाचनलाई लिन उहाँले आग्रह पनि गर्नुभयो। निर्वाचनको सबै तयारी पूरासुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका सहित १२ वटै स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको छ। मतदान केन्द्रमा घेराबेरा, सुरक्षा र मतदान सामग्रीहरु तथा केन्द्रमा आवश्यक सामग्रीसहित तह निर्वाचनको सबै तयारी पूरा भएको हो। मतदान अधिकृत र सुरक्षा टोलीले १२ वटै पालिकाका सबै मतदान केन्द्रमा मतदान स्थलमा दलहरुसँग र उम्मेदवारका प्रतिनिधिसँग छलफल गरेको छ। सबै मतदान अधिकृतले निर्वाचन सुरक्षित र भयरहित बनाउन अत्यावश्यक सूचना जारी गरी ३ सय मिटर वरिपरिको क्षेत्रलाई मतदानस्थल घोषणा गर्दै मदिरा निषेध गरिएको छ। हातहतियार प्रदर्शन निषेधित क्षेत्रको सूचना जारी गरिएको मुख्य निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदीले जानकारी दिनुभयो। यहाँका सबै ५८१ मतदान स्थल तथा केन्द्र निर्माण गरिएको छ। महिला र पुरुषका लागि बेग्लाबग्लै लामको व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग, गर्भवती र सुत्केरी, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले भने मतदान गर्न लाममा बस्नु नपर्ने गरी व्यवस्था मिलाएको सुवेदीले बताउनुभयो। यसैबीच, निर्वाचनका भारतीय सिमा नाका बन्द गरिएको छ। सुनसरीमा स्थानीय तह निर्वाचनका लागि तोकिएका उच्च संवेदनशील मतदान केन्द्रहरुमा उच्च सुरक्षा व्यवस्था पारिएको छ। त्यसैगरी, नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सुनसरीको दुहवी नगरपालिका २ नम्बर वडामा मतदान गर्नुहुँदैछ। गच्छदारले स्थानीय नवीन शिशु आधारभूत मतदान केन्द्रमा मतदान गर्नुहुन्छ। यस्तै, कांग्रेसका केन्द्रीय तथा प्रदेश सांसद राजीव कोइरालाले सुनसरीको इनरुवा नगरपालिका १ नम्बर वडाका चान्दनी अधारभूत केन्द्रमा मतदान गर्नुहुन्छ। त्यसैगरी, संघीय साँसद एवम् पूर्व राज्यमन्त्री सीताराम मेहताले पनि सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ को राजाजी मावि केन्द्रमा मतदान गर्नुहुने छ।
मतदान कार्यलाई सफल पार्न प्रमुख निर्वाचन आयुक्तको आग्रह
काठमाडौं, वैशाख २९ गते। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय निर्वाचनमा मतदान कार्यलाई सफल पार्न सहयोगको लागि अनुरोध गर्नुभएको छ। बिहीबार पत्रकार सम्मेलनमार्फत् उहाँले स्वच्छ, स्वतन्त्र र विश्सनीय र मितव्यायी वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरी सहयोगका लागि सम्बद्ध सबैमा आग्रह गर्नुभयो। “प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो”, उहाँले भन्नुभयो, “कानुन बमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अवसर र अधिकार निर्वाचन आयोगले प्रदान गरेको छ।” उहाँले विचार, निष्ठा र सिद्धान्तबाट निर्देशित भएर मतदान गर्न तर, कुनै पनि पद, पैसा पहुँच, प्रलोभन वा आश्वासनमा नपर्न पनि उल्लेख गर्नुभयो।“आफ्नो विवेकको सही तरिकाले सही ठाउँमा प्रयोग गर्न सबै मतदातामा आह्वान गर्दछु। सबै तयारी पूरा भइसकेका छन्, शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ”, उहाँले बताउनुभयो।मतदान कार्य सम्पन्न हुनासाथ सुरक्षित तवरबाट मतपेटिकाको आवश्यक ढुवानीको प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो। सबै मतपेटिका संकलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ हुनेछ।यसैगरी, कुनै पनि मतदाता मतदानको अधिकारबाट बञ्चित नहोस् भनेर मतदाता नामावली रहेकाले परिचय-पत्र, नागरिकताको प्रमाण-पत्र, राष्ट्रिय परिचय-पत्र, राहदानी, जग्गा धनी प्रमाण पूर्जा लगायतका कुनै एक प्रमाणका आधारमा मतदान गर्ने आवश्यक प्रबन्ध मिलाइएको उहाँ बताउनुहुन्छ। “कुनै प्रश्न उठ्न नसक्ने गरी वातावरण तयार गर्न राजनीतिक दल, उम्मेदवार तथा सम्बद्ध सरोकारवालाको सहयोग हुने विश्वास व्यक्त गर्दछु”, उहाँले भन्नुभयो, “आफूलाई मन परेको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाइ सही तरिकाले निर्धकक मतदान गर्न हुन हार्दिक अनुरोध गर्दछु।”
हुम्लाका मतगणनास्थलमा सीसीटिभी जडान
मुुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय सबै स्थानमा सीसीटिभी जडान गरिएको छ । सबै मतगणनास्थलमा हुने क्रियाकलापको अनुमगन गर्न सीसी क्यमरा जडान गरिएको हो ।
उपत्यकाको सुरक्षा व्यवस्था कडा : तीन हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं, वैशाख २९ गते। शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ। देशको संघीय राजधानीसमेत रहेको काठमाडौंमा चुनाव केन्द्रित सुरक्षा व्यवस्था कडा पारिएको हो। नेपाल प्रहरीका प्रवक्ता विष्णुबहादुर केसीले काठमाडौं उपत्यकाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी दुई दिनदेखि खटिसकेको बताउनुभयो। उहाँका अनुसार सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका गरेर तीन हजार सुरक्षाकर्मी र चार हजार पाँच सय म्यादी प्रहरी परिचालन गरिएको छ। सबै राजनीतिक दलबीच आपसी सम्बन्ध राम्रो रहेकाले मतदान अवधिभरको समय शान्तिपूर्ण नै रहने विश्वास प्रहरीको छ। ‘सबै राजनीतिक दलबीचको आपसी सम्बन्ध राम्रो छ। अहिलेसम्म सामान्य विवादबाहेक अन्य हिंसात्मक घटना भएका छैनन्। यसकारण मतदान अवधिसम्म नै अवस्था शान्तिपूर्ण हुने आशा छ,’ उहाँले भन्नुभयो। काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार जिल्लामा मतदान अवधिभर कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। जिल्लाको भौगोलिक अवस्थालाई ध्यान दिएर तीन तहमा सुरक्षा व्यवस्था गरिएको उहाँको भनाइ छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने पौडेलले बताउनुभयो। अप्रिय घटना भए पाँच मिनेटमै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने व्यवस्था गरिएको छ। निर्वाचन सुरक्षा व्यवस्थाका लागि आवश्यक प्रक्रिया बुधबार नै पूरा भएको उहाँको भनाइ छ। ‘जिल्लाको हकमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्थालाई कडा पारिएको छ,’ पौडेलले भन्नुभयो, ‘चुनावका दिन कुनै अप्रिय घटना भए तत्काल सुरक्षाकर्मी पुग्ने व्यवस्था गरिएको छ।’यस्तै, भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माले जिल्लाको सुरक्षा व्यवस्था कडा रहेको बताउनुभयो। जिल्लामा रहेका ७७ वटा मतदानस्थलमध्ये ३७ वटा संवेदनशील, ४० वटा सामान्य संवेदनशील मतदानस्थल रहेको उहाँको भनाइ छ । जिल्लाको हकमा १५ सय हाराहारीमा सुरक्षाकर्मी खटिएको शर्माको भनाइ छ। ‘जिल्लामा अतिसंवेदनशील मतदानस्थल छैनन्। तर, संवेदनशील र सामान्य संवेदनशील मतदानस्थल भएका कारण सुरक्षा व्यवस्थालाई कडा बनाएका छौँ,’ शर्माले भन्नुभयो।सँगै ललितपुरका सहायक प्रजिअ हरिप्रसाद पन्तले जिल्लाको सुरक्षा व्यवस्था कडा रहेको बताउनुभएको छ। ललितपुरमा १३१ मतदानस्थल र २८८ वटा मतदान केन्द्र छन्। हिंसात्मक गतिविधि नहोस् भनेर मतदान अधिकृतले राजनीतिक दलसँग सुरक्षा व्यवस्थासँग सम्बन्धि छलफलसमेत गरिराख्नुभएको छ।
सर्लाहीका मतगणनास्थलमा तारजाली र सीसी क्यामेराको व्यवस्था
सर्लाहीमा मतगणना हुने २० वटै पालिकामा तारजाली हालेर मतगणनास्थल तयार पारिएको छ । शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचन पश्चिात जिल्लाको ११ वटा नगरपालिका र नौ वटा गाउँपालिकाको कार्यालय रहेको भवनमा मतगणना हुने भएको छ ।
मतगणना स्थलमा सीसी क्यामेरा जडानसहितको तयारी
कैलालीको मतगणनास्थलमा सीसी क्यामेरासहितको तयारी गरिएको छ ।
रौतहटमा निर्वाचन तयारी सम्पन्न
शुक्रबार हुने स्थानिय तह निर्वाचनको लागि रौतहट जिल्लामा मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको छ ।
सरकारी प्रेस पास भएका पत्रकारलाई ‘सवारी अनुमतिपत्र’ आवश्यक नपर्ने
काठमाडौं, वैशाख २९ गते। शुक्रबार हुने स्थानीय तहको निर्वाचनको दिन सरकारी निकायको प्रेस पास भएका पत्रकारलाई निर्वाचन आयोगले दिने सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ। निर्वाचन आयोगले बिहीबार यस्तो निर्णय गरेको हो। यो निर्णसँगै नेपाल सरकार र प्रदेश सरकारको आधिकारीक निकायबाट जारी भएका प्रेस पास हुने सञ्चारकर्मीले आयोगबाट सवारी साधनका लागि सवारी अनुमति पत्र लिनु नपर्ने भएको हो। ‘नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने’, आयोगको निर्णयमा भनिएको छ। प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत् अनुरोध आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौंले अनुमतिपत्र जारी गर्नसक्ने आयोगले जनाएको छ। आयोगकी शाखा अधिकृत जयकला राईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत् अनुरोध भइ आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौंले सवारी अनुमतिपत्र जारी गर्न सक्ने।’’
सप्तरीमा निर्वाचनको तयारी अन्तिम चरणमा, मतगणनास्थलमा तारजाली
स्थानीय तह निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । मतदानस्थलको निर्माण तथा मतपत्र ढुवानी, मतदान स्थलमा सुरक्षा प्रबन्धलगायतका तयारी अन्तिम चरणमा पुगेकोे कार्यालयले जनाएको छ ।
तनहुँमा ३४ महिला मतदान अधिकृत
स्थानीय तह निर्वाचनका लागि तनहुँमा ३४ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । जिल्लास्थित २९७ मध्ये उक्त ३४ जना महिला अधिकृतलाई जिम्मेवारी दिइएको जिल्ला निर्वाचन कार्यालय तनहुँँकी सूचना अधिकारी दुर्गामाया आलेले जानकारी दिनुभयो ।
विशिष्ट व्यक्तित्व र शीर्षनेताले शुक्रबार मतदान गर्नुहुँदै
मुलुकको विशिष्ट व्यक्तित्व, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्रिपरिषद्का सदस्य पनि मतदानका लागि आ–आफ्नो क्षेत्रमा पुगिसक्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुगिसक्नुभएको छ । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट मतदान गर्नुहुने भएको छ ।
मतदाता शिक्षाबाट मतदाताहरु वञ्चित
विष्णुप्रसाद पोखरेलदमक, वैशाख २९ गते । दमकसहित झापाका अधिकांश मतदानस्थलहरुमा मतदाता शिक्षा प्रदान नगरिएको बताइएको छ । मतदानस्थलमा खटिएका मतदान अधिकृत तथा सहायक अधिकृत र कर्मचारीहरुले समेत नमुना मतपत्र नपाएकाले सिकाउन नसकिएको बताएका हुन् ।मतदाता परिचयपत्र लिन आउनेहरुलाई बुधबार र बिहीबार मतदाता शिक्षा प्रदान गरिने बताइएता पनि नमुना मतपत्र नै मतदानस्थलमा नरहेको पाइएको हो । दमक नगरपालिका भित्र रहेको मतदानस्थलमा पुग्दा त्यहाँ खटिएका कर्मचारीहरुले नमुना मतपत्र समेत देखाउन असमर्थ हुनुभयो । ‘अहिलेसम्म कसैले पनि मत हाल्ने तरिका सिक्न खोज्नु भएन र सिकाएका छैनौं’, एक मतदान अधिकृतले भन्नुभयो । आफूहरुलाई अनिवार्य रुपमा मत हाल्न मतदाता शिक्षा दिनु भनेर नभनिएको समेत उहाँको भनाइ थियो । हामीलाई त नमुना मतपत्र पनि दिइएको छैन र सिकाउनु भनिएको छैन, मतदानस्थलमा रहनु भएका अर्का एक कर्मचारीले भन्नुभयो ।मतदाताहरु मतदाता परिचयपत्र लिन पनि अत्यन्तै कम संख्यामा मात्र मतदान स्थलमा आएको बताइन्छ । हिमालय माविको मतदान केन्द्रका एक मतदान अधिकृतका अनुसार मत हाल्न सिक्न भनेर त यो दुई दिनको अवधिमा कोही एकजना पनि आउनु भएको छैन, उहाँले भन्नुभयो ।निर्वाचन अधिकृतको कार्यालय दमकका प्रमुख केशवप्रसाद पन्तकाअनुसार मतदाता शिक्षा प्रदान गर्ने कार्य व्यवस्थित हुन नसकेको स्वीकार गर्नुभयो ।‘मतदाता शिक्षा कार्यक्रम व्यवस्थित गर्न नसकिएको सत्य हो’, उहाँले भन्नुभयो । दमकमा ५८ हजारभन्दा बढी मतदाताहरु रहेका छन् । दमक नगरपालिकाभित्रको सुनसान मतदानस्थल । कर्मचारीहरु मतदाता परिचयपत्र लिनेआउने मतदाताको पखाईमा ।
दमकमा मतगणनास्थलमा तारजाली
झापाको दमकमा मतगणनास्थललाई सुरक्षित बनाउनका लागि तारजाली प्रयोग गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन अधिकृतको कार्यालय दमकका प्रमुख केशवप्रसाद पन्तका अनुसार मतगणना भइरहेको स्थलमा तोकिएका बाहेकका कोही पनि जान नसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।
उपत्यकामा मतदानस्थल र केन्द्रको निर्माण धमाधम हुँदै
शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उपत्यकाका विभिन्न स्थानमा मतदानस्थल तथा मतदान केन्द्र निर्माण गर्ने कार्य धमाधन भइरहेको छ । बिहीबार साँझसम्म सबै मतदानस्थल र मतदान केन्द्रको निर्माण पूरा गरी शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको तयारी गरिएको छ ।
महोत्तरीमा निर्वाचनको तयारी पूरा, सुरक्षा व्यवस्थामा कडाइ
महोत्तरीमा शुक्रबार हुने स्थानय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै पालिकामा रहेको २५८ मतदान स्थल र ४९७ मतदान केन्द्रमा निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय महोत्तरीले जनाएको छ ।
आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छ : आयुक्त भण्डारी
निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो ।
रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशील
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन अवधिका लागि रुपन्देहीमा चार हजार ६०४ सुरक्षाकर्मी परिचालन गरिएको हो । मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् ।
काठमाडौं महानगरमा १५६ मतदान स्थल र ३६३ केन्द्र
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौं महानगरमा १५६ मतदान स्थल र ३६३ मतदान केन्द्रबाट जनप्रतिनिधि चुनिँदै छन् । तीन लाख २४२ मतदाता रहेको महानगरमा सबैभन्दा धेरै वडा नं. १६ मा २० हजार १७५ जना मतदाता छन् ।
स्थानीय सरकारको पाँच वर्ष : सफल कार्यकाल, सफल अभ्यास
जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीका रूपमा स्थानीय सरकारको पाँच वर्षे कार्यकाल पूरा भएको छ । स्थानीय सरकारको पाँच वर्षे कार्यकाल समग्रमा सफल अभ्यासका रूपमा रहेको विज्ञहरूले बताउनुभएको छ ।देशका ७५३ वटा स्थानीय तहमा प्रत्यक्ष निर्वाचनमार्फत कार्यकारी प्रमुखका रूपमा स्थानीय सरकार जनताले गठन गर्ने व्यवस्था छ ।
हुम्लामा पाँच जना महिला मतदान अधिकृत
शुक्रबार सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले विभिन्न पाँच जना महिलालाई मतदान अधिकृतका रुपमा खटाएको छ । निर्वाचन सम्पन्न गर्न कर्मचारी खटाउने कार्यलाई सक्षमता र समावेशी बनाउन महिला कर्मचारीलाई जिम्मेवारी दिइएको मुुख्यनिर्वाचन अधिकृत जगतबहादुुर पौडेलले बताउनुभयो ।
मतदान केन्द्र निर्माण र परिचयपत्र वितरण
स्थानीय निर्वाचन २०७९ को पूर्वसन्ध्यामा मतदान केन्द्र निर्माण भइरहेका छन् तर केन्द्र निर्माणमा केही कठिनाइ देखिएको छ । निर्वाचन आयोगले २०७४ को चुनावका आधारमा मतदान केन्द्र निर्धारण गर्दा ‘बुथ’ निर्माणमा कठिनाइ उत्पन्न भएको छ ।
नामावलीमा नाम भए नागरिकता वा राहदानीका आधारमा पनि मत दिन पाउने
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ ।