• २ असार २०८१, आइतबार

मतदाता शिक्षाबाट मतदाताहरु वञ्चित

blog

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख २९ गते । दमकसहित झापाका अधिकांश मतदानस्थलहरुमा मतदाता शिक्षा प्रदान नगरिएको बताइएको छ । मतदानस्थलमा खटिएका मतदान अधिकृत तथा सहायक अधिकृत र कर्मचारीहरुले समेत नमुना मतपत्र नपाएकाले सिकाउन नसकिएको बताएका हुन् ।

मतदाता परिचयपत्र लिन आउनेहरुलाई बुधबार र बिहीबार मतदाता शिक्षा प्रदान गरिने बताइएता पनि नमुना मतपत्र नै मतदानस्थलमा नरहेको पाइएको हो । दमक नगरपालिका भित्र रहेको मतदानस्थलमा पुग्दा त्यहाँ खटिएका कर्मचारीहरुले नमुना मतपत्र समेत देखाउन असमर्थ हुनुभयो । 

‘अहिलेसम्म कसैले पनि मत हाल्ने तरिका सिक्न खोज्नु भएन र सिकाएका छैनौं’, एक मतदान अधिकृतले भन्नुभयो । आफूहरुलाई अनिवार्य रुपमा मत हाल्न मतदाता शिक्षा दिनु भनेर नभनिएको समेत उहाँको भनाइ थियो । हामीलाई त नमुना मतपत्र पनि दिइएको छैन र सिकाउनु भनिएको छैन, मतदानस्थलमा रहनु भएका अर्का एक कर्मचारीले भन्नुभयो ।

मतदाताहरु मतदाता परिचयपत्र लिन पनि अत्यन्तै कम संख्यामा मात्र मतदान स्थलमा आएको बताइन्छ । हिमालय माविको मतदान केन्द्रका एक मतदान अधिकृतका अनुसार मत हाल्न सिक्न भनेर त यो दुई दिनको अवधिमा कोही एकजना पनि आउनु भएको छैन, उहाँले भन्नुभयो ।

निर्वाचन अधिकृतको कार्यालय दमकका प्रमुख केशवप्रसाद पन्तकाअनुसार मतदाता शिक्षा प्रदान गर्ने कार्य व्यवस्थित हुन नसकेको स्वीकार गर्नुभयो ।‘मतदाता शिक्षा कार्यक्रम व्यवस्थित गर्न नसकिएको सत्य हो’, उहाँले भन्नुभयो । दमकमा ५८ हजारभन्दा बढी मतदाताहरु रहेका छन् । दमक नगरपालिकाभित्रको सुनसान मतदानस्थल । कर्मचारीहरु मतदाता परिचयपत्र लिनेआउने मतदाताको पखाईमा ।