काठमाडौँ, वैशाख ८ गते । नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले विद्यार्थी सङ्गठन राजनीतिक दलहरुसँग वैचारिक आस्थाले जोडिएका संस्था मात्र नभइ बेथिती र विसङ्गतीविरुद्ध खबरदारी गर्ने आधिकारिक संस्था रहेको बताउनुभएको छ।
मङ्गलबार एक विज्ञप्ति जारी गर्नुहुँदै उहाँले नेपालको गौरवशाली राजनीतिक इतिहासको मेरुदण्डका रुपमा स्थापित, क्रियाशील एवम् आन्दोलनरत विद्यार्थी सङ्घ सङ्गठन एवम् स्वतन्त्र विद्यार्थी युनियनहरुको जगमा मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका माध्यमले नेपाली जनताले उच्चतम नागरिक स्वतन्त्रताको उपभोग गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभएको छ, “वि.सं. २०३६÷०३७ सालको विद्यार्थी आन्दोलन र जनमतसङ्ग्रह, २०४६ को प्रजातन्त्र पुर्नस्थापना र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा नेपाली जनता, नेपाली कांग्रेस लगायतका राजनीतिक दल, नागरिक समाजसँगै विद्यार्थीहरुले बगाएको रगत र दिएको बलिदानकै परिणामस्वरुप आज नयाँ व्यवस्थासँगै आवधिक निर्वाचन, नेतृत्व परिवर्तन मात्रै होइन सिङ्गो समाज रुपान्तरण सम्भव भएको हो भन्दा केही दुइमत हुँदैन ।”
उहाँले लोकतन्त्रको नर्सरी मानिने विद्यार्थी सङ्घ सङ्गठन र स्ववियु खारेज गर्ने निर्णय विरोधाभाषपूर्ण मात्र नभइ सरकारको अधिनायकवादी कदमको रुपमा बुझ्न बाध्य भएको धारणा राख्नुभयो ।