• ८ वैशाख २०८१, शनिबार

उपत्यकामा मतदानस्थल र केन्द्रको निर्माण धमाधम हुँदै

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख २९ गते । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उपत्यकाका विभिन्न स्थानमा मतदानस्थल तथा मतदान केन्द्र निर्माण गर्ने कार्य धमाधन भइरहेको छ । बिहीबार साँझसम्म सबै मतदानस्थल र मतदान केन्द्रको निर्माण पूरा गरी शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको तयारी गरिएको छ । 

एकै चरणमा देशभर हुन लागेको निर्वाचनका लागि उपत्यकाका काठमाडौं र ललितपुरका विभिन्न स्थानमा मतदानस्थल तथा मतदान केन्द्र बनाउने कार्य भइरहेको छ ।

काठमाडौं महानगरपालिकामा १५६ मतदानस्थल र ३६३ मतदान केन्द्र तोकिएको छ । त्यस्तै, ललितपुर महानगरपालिकामा ५२ मतदानस्थल र १३७ मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।

फोटोसहितको मतदाता परिचयपत्रमा नामावली भएका र वैशाख २९ गते बिहीबारसम्म १८ वर्ष पूरा भएका मतदाताले यस निर्वाचनमा मताधिकारको प्रयोग गर्नेछन् । देशभर कुल मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार ७२३ छ । जसमध्ये ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ अन्य छन् ।