• ७ जेठ २०८१, सोमबार

स्थानीय निर्वाचन

सीमा नाकामा चुनाव लक्षित सुरक्षा गस्ती

blog

प्रतिकात्मक तस्बिर

काठमाडौं,वैशाख २९ गते। भोलि (शुक्रबार) देशभर एकसाथ ७५३ स्थानीय तहमा मतदान हुँदैछ। सरकारले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै देशभरको सुरक्षा व्यवस्था कडा बनाएको छ। सरकारको सुरक्षा योजना अनुसार सीमा नाकामा चुनाव लक्षित सुरक्षा गस्ती बढाएको छ। 

चुनावी सुरक्षा योजना अनुसार मंगलबार राति मंगलबार राति १२ बजेदेखि सीमा नाका बन्द छन्। नाका बन्द भए पनि सरकारले मतदान सम्पन्न नहुँदासम्म सीमा सुरक्षा गस्तीलाई निरन्तरता दिइने नेपाल प्रहरीका प्रवक्ता विष्णुबहादुर केसीले जानकारी दिनुभयो। सरकारले सीमा सुरक्षाको निगरानीका लागि प्रदेशगत सुरक्षा रणनीति बनाएको छ। 

प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईले भारत र चीनसँग सीमा जोडिएका नाकामा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो। प्रदेश १ मा भारत र चीनसँग सीमा जोडिएको छ। चिनियाँ नाकाबाट भन्दा भारतीय सीमा क्षेत्रबाट आवतजावतको चाप बढी हुनेहुँदा प्रहरीले भारतीय सीमा क्षेत्रको निगरानीलाई प्राथमिकता दिएको छ। 

भारतसँग सीमा जोडिएका सुनसरी, मोरङ, झापा र इलाम जिल्लाका सीमा क्षेत्रमा सुरक्षा टोली तैनाथ छन् । भारततर्फ खुला सीमा रहेकाले यी जिल्लालाई सुरक्षा रणनीतिको दृष्टिकोणले महत्वका साथ हेरिएको छ। प्रदेश प्रहरीले छिमेकी देशसँग समन्वय गरेर चुनाव लक्षित गस्ती बढाएको राईले उल्लेख गर्नुभयो। 

मधेस प्रदेशका सबै जिल्ला भारतसँग सीमा जोडिएका छन्। खुला सीमालाई ध्यान दिँदै मधेस प्रदेश प्रहरी कार्यालयले सुरक्षा रणनीति बनाएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीका अनुसार भारतबाट हुने आवागमन रोक्न भारतीय सुरक्षा निकायसँग समन्वय गरिएको छ। प्रहरीले आठ जिल्लामध्ये वीरगञ्जको सीमा नाकालाई महत्वकासाथ हेरेको छ। ‘‘वीरगञ्जका सीमा नाकालाई सुरक्षाको दृष्टिकोणले चुनौतीको रुपमा हेरिएको छ। अन्य जिल्लाका सीमा नाकाबाट हुनसक्ने खतरालाई उत्तिकै महत्व दिएका छौँ’, कार्कीले भन्नुभयो। 

सीमा सुरक्षाको दृष्टिकोणले प्रदेश १ र मधेस प्रदेश भन्दा बागमती प्रदेशमा जोखिम कम देखिन्छ। प्रदेश प्रहरी कार्यालय बागमतीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार स्थानीय सुरक्षा समितिको निर्णय बमोजिम सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशअन्तर्गत चीनसँग सीमा जोडिएका रसुवागढी र तातोपानी नाकालाई पूर्ण रुपमा सिल गरिएको छ। 

प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका  प्रवक्ता एवम् प्रहरी उपरीक्षक मीनबहादुर घलेल अत्यावश्यक बाहेकका सवारी साधनलाई ओहोर/दोहोर गर्न पूर्ण रुपमा रोक लगाइएको बताउनुभयो। गण्डकीका मुस्ताङ र नवलपरासी पूर्वका सीमा नाकामा सिल गरिएको छ। गोरखा र मनाङ जिल्लाका सीमा नाका भौगोलिक जटिलताका कारण पहिलेदेखि नै बन्द छन्। प्रदेश प्रहरी कार्यालय लुम्बिनी प्रवक्ता मनहरि डंगोलका अनुसार भारतसँग सीमा जोडिएका जिल्लाको सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। विशेषगरी रुपन्देही, बाँके र बर्दिया जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो। 

कर्णाली प्रदेशसँग सीमा जोडिएका चिनियाँ नाका पहिलेदेखि नै बन्द छन्। कर्णाली प्रदेशका प्रहरी प्रवक्ता हिराबहादुर पाण्डेका अनुसार कोरोनाको पहिलो लहरमै बन्द हिल्सा नाका अहिलेसम्म खुलेको छैन। नाका बन्द भए पनि सुरक्षा टोली सीमा क्षेत्रमा तैनाथ छ।  प्रदेश १ र मधेस प्रदेशजस्तै सुदूरपश्चिम प्रदेशमा भारतसँग खुला सीमा रहेका जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुदूरपश्चिम प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलका अनुसार सीमा सुरक्षा चौकी (बीओपी)ले लगातार गस्ती गरिरहेको छ। कञ्चनपुरको गड्डाचौकी, कैलालीको श्रीनगर र कालाकुण्ड नाकाबाट अत्यावश्यकबाहेक आवतजावत बन्द गरिएको छ।  


Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।