• २२ मङ्सिर २०८२, सोमबार

छोटो समयमा आर्थिक सुधारका काम हुन्छन् : अर्थमन्त्री खनाल

blog

नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री रामेश्वर खनाल। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, मङ्सिर २१ गते। अर्थमन्त्री रामेश्वर खनालले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न गठन गरिएको अन्तरिम सरकारले देशको आर्थिक अवस्था सुधारका लागि निरन्तर काम गरिरहेको बताउनु भएको छ। 

नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले निश्चित समय र कार्यका लागि बनेको सरकारले छोटो समयमै आर्थिक सुधारका धेरै काम गर्ने बताउनुभयो। उहाँले देशको अर्थतन्त्रलाई सुधार गर्न अर्थ मन्त्रालयले विभिन्न प्रकारका सुधारका काम गरिरहेकोले त्यसबाट देशको उद्योग व्यवसाय सञ्चालनमा सहज र सरल हुने बताउनुभयो। 

जेनजी आन्दोलनको मुख्य उद्देश्य भ्रष्टाचार न्युनिकरण गर्नु र सुशासन कायम गर्नु रहेको हुँदा सोही म्यान्डेटका साथ सरकारले काम गरिरहेको उहाँले बताउनुभयो। 

संसद नभएको अवस्थामा धेरै ठुला नीतिगत निर्णय गर्न नसकिने जनाउँदै मन्त्री खनालले देशको आर्थिक अवस्थामा सुधारका लागि अहिलेकै नीति र प्रणालीमा सुधार ल्याउने कार्य गरिरहेको बताउनुभयो। 

यो सरकारसँग फागुन २१ गतेसम्मको मात्रै समय रहेकोले निर्वाचनलाई समयमै सम्पन्न गर्नुका साथै आगामी आउने सरकारलाई आर्थिक लगायत विभिन्न क्षेत्रको सुधारका कामहरुको सूची दिएर निरन्तरताका लागि आग्रह गरेर बिदा हुने मन्त्री खनालले बताउनुभयो। 

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहीद मन्सुरी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्मा, नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी ओली, साइकल व्यवसायी शरीफ बागवान लगायतले उद्योगी व्यवसायीले भोग्नु परेका विभिन्न समस्या मन्त्रीलाई अवगत गराउनुभयो। 

उक्त अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघको तर्फबाट मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ। कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी, राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवाल र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माको उपस्थिति रहेको थियो।