• ३ जेठ २०८१, बिहिबार

६७ जिल्लामा फैलियो डढेलो, पानी नपर्दा नियन्त्रणमा चुनौती

blog

काठमाडौँ, वैशाख १७ गते । प्रि-मनसुनमा वर्षा नहुँदा आगलागी र डढेलोको प्रकोप बढेको छ । सुख्खायाम सुरु भएसँगै फागुनदेखि सुरु भएको आगलागीसहितको डढेलो ६७ जिल्लामा फैलिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक महिना (चैत्र १५–वैशाख १५) सम्म एक हजार २९३ स्थानमा डढेलोसहितको आगलागीका घटना भएका छन् । उक्त घटनामा २२ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार पछिल्लो एक महिना (चैत्र १५–वैशाख १५) सम्म एक हजार २९३ स्थानमा डढेलोसहितको आगलागीका घटना भएका छन् ।

एक महिनाको अवधिमा ४९ करोड बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्क छ । मृत्यु हुनेमा आगलागीबाट १४ जना र डढेलोबाट आठ जनाको मृत्यु भएको छ । वैशाख सुरु भएयता मात्र डढेलोसहितको आगलागीबाट ११ जनाको मृत्यु भएको छ । 

जसमध्ये आगलागीका कारण नौ जनाको मृत्यु भएको छ भने वन डढेलोका कारण दुई जनाको मृत्यु भएको छ । सो अवधिमा २६ करोड बराबरको क्षति भएको छ । आइतबार मात्र काठमाडौँको शंखमूल दोभानपुलस्थित देवी अटोमोवाइल्स प्रालिमा विद्युत सर्ट भएर आगलागी हुँदा दशवटा पसलमा क्षति भयो । 

विद्युत सर्ट भएका कारण सँगै रहेका टहरामा सञ्चालित बाबा ठाकुर मोटरसाइकल वर्कसप, जय बजरङगवली पान पसल, माछा पसल, एक खाजा पसल, किराना तथा तरकारी पसल, मासु पसल, फास्टफुड रेष्टुरेन्ट र दुई वटा घरका भित्तामा क्षति भएको प्रहरीको भनाइ छ । गुल्मीको रेसुङ्गा जङ्गलमा हिजोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । धेरै जङ्गलमा अहिले पनि आगलागी भइरहेको छ । 

राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका अनुसार डढेलोसहितको आगलागीका कारण वैशाख यता ४४ जना घाइते भएका छन् । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले दिएको जानकारीअनुसार दुई हप्तामा ७४४ घटना भएका छन् । जसमध्ये वन डढेलोका घटना २८८ वटा भएका छन् । ४५६ स्थानमा डढेलो लागेको प्रवक्ता भट्टराईको भनाइ छ  ।

उहाँका अनुसार मानवीय लापरबाहीका कारण डढेलोसहित आगलागीका घटना भएका छन् । प्रवक्ता डा. भट्टराईले भन्नुभयो, “देशभर भएका डढेलोसहितको आगलागीमा सबैभन्दा बढी ९० प्रतिशत घटनाहरू मानवीय लापरबाहीका कारण भएका छन् ।” डढेलोसहितको आगलागीले वैशाख महिनामा मात्र २६ करोड बराबरको क्षति पुर्‍याएको आङ्कलन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । 

५०२ पूर्वाधारमा डढेलोसहितको आगलागीले क्षति पुर्‍याएको छ । आगलागी र डढेलोमा परी ४५१ पशुचौपाया मरेको भट्टराईले जानकारी दिनुभयो । 

पानी नपरेकाले आगलागी र डढेलोको समस्या देशव्यापी बन्न पुगेको उहाँको भनाइ छ ।

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले दिएको जानकारीअनुसार दुई हप्तामा ७४४ घटना भएका छन् ।

भट्टराईले भन्नुभयो, “पानी नपरेर सुख्खा बढेको छ, हावाहुरी चल्ने मौसम भएकाले एक ठाउँमा सल्किएको आगो तुरुन्तै अन्यत्र फैलने जोखिम छ, ‘अहिले पनि धेरै ठाउँमा आगलागी भइरहेका छन्, निभाउने प्रयास जारी छ ।” स्थानीय प्रशासनको सहयोगमा डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको उहाँ बताउनुहुन्छ । 

कहिले पर्छ पानी 

मौसम विज्ञान विभागका अनुसार अबको एक साता पानी पर्ने सम्भावना नरहेकाले डढेलोको जोखिम उच्च छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पानी पार्ने प्रणाली यो साताभर विकास नहुने र तापक्रम बढ्ने भएकाले आगलागीबाट थप सचेत हुनुपर्ने बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “यो हप्तामा पानी पार्ने प्रणाली विकसित हुने देखिन्न, तापक्रम बढ्ने देखिन्छ, त्यसैले तातो हावा चल्ने भएकाले आगलागीबाट सचेत हुनुपर्ने देखिन्छ ।” यो हप्ता हावाहुरीको सम्भावना रहेकाले थप सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।