धर्बेन्द्र झा
जनकपुरधाम, कात्तिक २२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले मधेश प्रदेशसभाको शनिबारको बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
मुख्यमन्त्री सोनारले विश्वासका मत लिन पेश गर्नु भएको प्रस्ताव प्रदेश सभाले पारित गर्ने सम्भावना नदेखेपछि प्रस्ताव फिर्ता लिँदै पदबाट राजीनामा दिनुभएको हो ।
मुख्यमन्त्रीले राजीनामा दिएपछि सभामुख रामचन्द्र मण्डलले उक्त प्रस्तावलाई निर्णयार्थ पेश गर्नुपर्ने आवश्यकता नभएको भन्दै बैठक स्थगित गर्नुभएको छ ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नु भएको थियो । बैठकमा नेकपा (एमाले) र नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेत मुख्यमन्त्रीलाई समर्थन नगर्ने बताए । नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य रहवर अन्सारीले आफू तटस्थ बस्ने बताउनुभयो भने माओवादीकै सांसद माला कर्णले उहाँकै भनाइमा समर्थन गर्नुभयो ।
जनमत पार्टीका प्रदेशसभा सदस्य एवम् पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र प्रदेशसभा सदस्य एवम पूर्वमन्त्री त्रिभुवन साह अनुपस्थित हुनुहुन्थ्यो । मधेश प्रदेशसभामा कुल १०७ प्रदेशसभा सदस्य संख्या रहेकोमा बहुमत प्राप्त गर्नका लागि ५४ जनाको आवश्यकता पर्छ । हाल प्रदेशसभामा तीन जना प्रदेशसभा सदस्य निलम्बनमा परेका छन् ।