गोरखापत्र अनलाइन
काठमाडौँ, कात्तिक २२ गते । हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो पराहिमालय सञ्चार तथा सामाजिक सङ्गोष्ठी सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पत्रकारिता विभाग र सिचुवानस्थित युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी) को स्कुल अफ पब्लिक एडमिनिस्ट्रेसनको संयुक्त आयोजनामा सम्पन्न सङ्गोष्ठीमा हिमालय आसपासका देशहरूका विज्ञ, शिक्षाकर्मी, शैक्षिक तथा सञ्चार संस्थाले प्रभावकारी सञ्चार तथा सामाजिक विकासका लागि सामूहिक प्रतिबद्धता जनाएका छन् ।
सङ्गोष्ठीमा विचार राख्ने वक्ताहरूले यस क्षेत्रको विकासमा विभाजन नभइ साझेदारीमा जोड दिएका छन् । सम्मेलनमा युनिभर्सिटी अफ टेक्सासका प्राध्यापक अरविन्द सिङ्गलले हिमालय क्षेत्रका देशहरू साझा संस्कृतिले जोडिनुका साथै साझा समस्यासँग जुधिरहेकाले यी देशहरूका सञ्चारमाध्यमले साझा कथा बोल्नुपर्ने बताउनुभयो । सञ्चारमाध्यमका प्रस्तुतिहरू समस्या समाधानका आवाज बन्नुपर्ने उहाँको भनाइ छ।
कुमाउ विश्वविद्यालयकी प्राध्यापक दीपिका पन्तले पहाडी क्षेत्रका महिला यस क्षेत्रका समावेशी आवाज भएका भन्दै ती महिलाको सङ्घर्ष र उनीहरूको जीवनशैली प्रभावकारी सञ्चारको उदाहरण बन्ने बताउनुभयो । उहाँले आधुनिकतासँगै भाषा, संस्कृति लोप हुँदैगर्दा पुरानो इतिहास पनि मेटिने सम्भावना रहेको स्पष्ट पार्नुभयो ।
सङ्गोष्ठीमा भूटानको सूचना तथा मिडिया विभागका संस्थापक दाबा पेन्जोरले हिमालय आसपासका देशहरूले आफ्नो संस्कृति जोगाउँदै आधुनिक प्रविधि अङ्गीकार गर्दै जानुपर्ने धारणा राख्नुभयो । युनिभर्सिटी अफ पञ्जाबकी प्राध्यापक अविधा अस्रफले हिमालय क्षेत्र जलवायु परिवर्तनको मारमा रहेको भन्दै साझा समस्या समाधानका लागि साझा प्रयासहरू आवश्यक पर्नेमा जोड दिनुभयो ।
हिमाली क्षेत्रका देशहरू सीमारेखाले विभाजित भए पनि प्राकृतिक प्रकोपलाई सीमारेखाले नछेक्ने बताउँदै उहाँले सञ्चारका ‘सिग्नल’हरू पनि रोकिन नहुने धारणा राख्नुभयो । हिमालय आसपासमा सञ्चारमाध्यमको साझेदारी आवश्यक रहेको बताउनुभयो ।
पान हिमालय कम्युनिकेसन रिसर्च सेन्टरका निर्देशक हान होङले हिमालय आसपासका देशबिचको साझेदारीले यस क्षेत्रको सामूहिक विकास, शान्ति र स्थायित्वमा योगदान गर्ने चर्चा गर्नुभयो । ‘पेरिफेरियल डिजिटल कम्युनिकेसन एण्ड रिजनल पब्लिक गभर्नेन्स’ भन्ने मुख्य नाराका साथ दुई दिनसम्म सञ्चालित सङ्गोष्ठीमा विभिन्न नौ देशका १५० बढी विज्ञको सहभागिता थियो ।
सम्मेलनमा समानान्तर पाँच सत्रमा ६० कार्यपत्र प्रस्तुत भएका थिए। यसैबिच सङ्गोष्ठीको क्रममा त्रिवि र युइएसटिसीका जनप्रशासन विभागले संयुक्त रूपमा ‘रिसर्च सेन्टर फर डिजिटल एण्ड इन्टिलिजिन्ट पब्लिक गभर्नेन्स इन पान हिमालय रिजन’को स्थापना गरेका छन् ।