जनार्जन खत्री
सर्लाही, कात्तिक २२ गते । छोरा देवकुमार सुवेदीको जेनजी आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएपछि लालबन्दी नगरपालिका–५, मेजरगन्ज शान्ति टोलका उजिरबहादुर सुवेदी र पत्नी यशोदाकुमारी अहिले सहाराविहीन हुनुभएको छ ।
२७ वर्षीय देवकुमारको भदौ २४ गते काठमाडौँमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । बुवा ८५ वर्षीय उजिरबहादुर र आमा ६७ वर्षीया यशोदाकुमारीको सहारा कान्छो छोरा देवकुमार हुनुहुन्थ्यो । चार छोरामध्ये देवकुमारले नै बुवाआमाको पालनपोषण गर्दै आउनुभएको थियो । जेनजी आन्दोलनमा गोली लागेर देवकुमार ढलेसँगै वृद्ध दम्पतीको सहारासमेत सँगसँगै ढलेको छ । देवकुमारका बुवा ८५ वर्षीय उजिरबहादुर दमको रोगी हुनुहुन्छ । उहाँ राम्रोसँग कानसमेत सुन्नुहुन्न भने आमा यशोदाकुमारी फोक्सोसहित अन्य रोगबाट पीडित हुनुहुन्छ ।
काठमाडौँको कालीमाटीमा कोठा गरेर बस्ने देवकुमार कालीमाटी तरकारी बजारमा सुरक्षा गार्डको काम गर्नुहुन्थ्यो । गोली लागेर ढल्नुअघि उहाँले केही साताअघिदेखि तरकारीको व्यापारसमेत सुरु गर्नुभएको थियो । उजिरबहादुरका जेठो छोरा डेककुमार र माइलो छोरा इन्द्रजित पोखरा अनि साइलो छोरा भानुभक्त काठमाडौँमा बस्नुहुन्छ । चारै भाइ छोरालाई अंशबन्डा गरेपछि वृद्ध दम्पती कान्छो छोरा देवकुमारसँग बस्दै आउनुभएको थियो ।
देवकुमारको मृत्युपछि सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलस्थित घरमा अहिले वृद्ध दम्पती मात्रै रहनुभएको छ । देवकुमारकी श्रीमती पार्वती र छोरी सलोनी काठमाडौँमै बस्न थालेका छन् । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाको परिवारलाई प्रदान गर्ने निर्णय गरेको १५ लाख रुपियाँ सहायता रकम देवकुमारकी श्रीमती पार्वतीले जिल्ला प्रशासन कार्यालयबाट बुझिसक्नुभएको छ । छोरा देवकुमारलाई गुमाएका बुवा उजिरबहादुर र आमा यशोदाको आँखा अहिले पनि रसाइरहेका छन् ।
उजिरबहादुरले छोराको मृत्यु भएसँगै आफूहरूको जीवन अन्धकारमय बनेको बताउनुभयो । “पाल्ने छोरा गोली लागेर ढली गयो, अब हाम्रो सहारा कोही पनि भएनन्,” उजिरबहादुरले भन्नुभयो, “छोरा त मरेर गइगो तर त्यसले गोली नै खानुपर्ने गरी के ग¥यो होला भन्ने कुरा मनमा सधैँ खेलिरहन्छ ।” इच्छा हुँदाहुँदै उजिरबहादुर र यशोदाकुमारीले छोराको शव हेर्न पाउनुभएन । शारीरिक अवस्थाले गर्दा आफूहरू काठमाडौँ जान नसकेको र अन्य छोरालाई देवकुमारको पशुपति आर्घघाटमै सद्गद् गर्न भनेको उजिरबहादुरको भनाइ छ । दाइहरूले देवकुमारको शव अस्पतालमा मृत्यु भएको पाँच दिनपछि मात्रै बुझेका थिए । देवकुमारले मृत्यु भएको दुई दिनअघि आमा यशोदाकुमारीलाई फोन गरेर बुवा र आमाको स्वास्थ्यबारे जानकारी लिई केही भए आफूले औषधी उपचार गर्ने भनी सम्झाउनुभएको थियो । देवकुमारले माघ महिनातिर घर आएर घरमा झ्याल हाल्ने तथा अन्य मर्मतसम्भारको काम गर्ने बताउनुभएको थियो । वृद्ध सुवेदी दम्पती बसिरहेको घरमा अहिले घाम, पानी छेक्न झ्यालमा बोरा हालेर घेरिएको छ । छोरा देवकुमारबारे कसैले घरमा आएर केही कुरा सोधे उजिरबहादुर र यशोदाकुमारीको आँखा रसाउन थालिहाल्छ । छोराको मृत्यु अझै पनि सपना जस्तै लाग्ने आमा यशोदाकुमारी बताउनुहुन्छ । सुखसँग पाल्छु भन्ने छोराले अनाहकमा ज्यान गुमाउनु परेको आमा यशोदाकुमारीको दुखेसो छ । “आमा अब जाडो आउँदै छ ख्याल गर्नु है, साह्रोगाह्रो प¥यो भने म तुरुन्त आइहाल्छु भनेर दुई दिनअघि फोन गरेको थियो,” आमा यशोदाकुमारीले भन्नुभयो, “हाम्रो भरथेग नै त्यही छोरा थियो तर त्यसले अनाहकमा प्राण त्याग्नु प¥यो । हामीलाई अब कसैको सहारा नहुने भयो ।”