• २२ कात्तिक २०८२, शनिबार

थारू नागरिक अभियान संवाद : नयाँ दृष्टिकोणको खोजी

blog

प्यानल संवाद कार्यक्रममा नागरिक अगुवाहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २२ गते । नागरिक अगुवा तथा विश्लेषकहरुले थारू समुदायले खोजेको न्याय मागेर नपाइने हुनाले संघर्षमार्फत माग सुनिश्चित् गर्नेतर्फ लाग्न सुझाएका छन् । थारू नागरिक अभियानले शनिबार यहाँ आयोजना गरेको संवाद कार्यक्रममा वक्ताहरुले सो सुझाब दिएका हुन् । 

लेखक तथा विश्लेषक खगेन्द्र सङ्ग्रौलाले टीकापुर विद्रोह थारू समुदायमाथि गरिएको राज्यको लामो दमनको विस्फोट भए पनि त्यसलाई हिंसात्मक घटनाको संज्ञा दिएर सरकारले थारूमाथि अर्को विभेद गरेको टिप्पणी गर्नुभयो । अधिकार माग्दा जातीयता देख्ने शासकको नजरले जनतालाई न्याय गर्न नसकिरहेको उहाँको बुझाइ छ । 

लेखक संग्रौलाले भन्नुभयो, “टीकापुर घटना र जेनजी आन्दोलन’ लाई एउटै नजरियाले हेर्ने प्रयास गरिएको छ । यहाँका मूलधारका मिडियाले त्यही भास्य स्थापित गर्नमा लागेको देखिन्छ । तर त्यस्तो होइन, टीकापुर विद्रोह र जेनजी विद्रोह सुव्यवस्था, परिवर्तन, प्रतिनिधित्व, सुशासन र न्यायको विद्रोह हो ।” टीकापुर विद्रोह र जेनजी विद्रोहलाई अपराधीकरणको संज्ञा दिन नमिल्ने उहाँको तर्क छ । 

अर्का लेखक तथा विश्लेषक डम्बर खतिवडाले थारू समुदायको माग विभिन्न समयमा विभिन्न रुपमा प्रस्फुटन हुँदै आए पनि सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएर सम्बोधनको प्रयास नगरेको उहाँको भनाइ छ । अवस्था यस्तै कायम रहे मुलुकमा पटक पटक यस्ता जनविद्रोह भइरहने उहाँले दावी गर्नुभयो । २०७२ साल भदौ ७ गते टीकापुरमा भएको विद्रोह राजनीतिक विद्रोह भएको उहाँले तर्क गर्नुभयो । 

थारू समुदायको माग सम्बोधन गर्न छाडेर उल्टै थारू समुदायमाथि दमन गर्ने नीति सरकारले लिएकाले समस्याको समाधान नभएको उहाँले चर्चा गर्नुभयो । विविधतायुक्त मुलुकमा शासन सत्तामा सबै जातीय समुदायको प्रतिनिधित्व सुनिश्चित नगर्दासम्म राजनीतिक विद्रोह भइरहने उहाँले चर्चा गर्नुभयो । अहिले स्थापित भएका दलहरु पनि विगतमा कुनै न कुनै हिंसात्मक घटना घटाएरै स्थापित भएको उहाँले उदाहरण दिनुभयो । 

पूर्वमन्त्री सुमना श्रेष्ठले लोकतन्त्रमा दलका नेताको मात्र रुपान्तरण भएर समस्या समाधान नहुने, सँगसँगै स्थायी सरकार भनेर चिनिने कर्मचारीतन्त्रमा पनि रुपान्तरणको खाँचो औल्याउनुभयो । “टाउको फेरेर शरीर स्वस्थ हुने होइन, समग्र पक्षमा रुपान्तरणको खाँचो पर्छ । मुलुकमा सुशासन कायम गर्न राजनीतिक र वैचारिक चेत भएकाहरुको बलियो राजनीतिक शक्ति आवश्यक पर्छ । जेनजीहरुले त्यसमा ध्यान दिनुपर्छ” उहाँले भन्नुभयो । 

राजनीतिक विश्लेषक डा. महेन्द्र लावतीले अधिकार माग्दा जातीयता देख्ने शासकको नजर नै गलत रहेको बताउँदै मुलुकमा रहेका सबै जातीय समुदायको अधिकार सुनिश्चित नगर्दासम्म राजनीतिक विद्रोह जारी रहने बताउनुभयो । “सत्ता र दलमा प्रतिनिधि होइन, आवाजको प्रतिनिधित्व चाहिन्छ । मूर्तिको रुपमा एक दुई प्रतिनिधि लगेर समुदायको आवाज बुन्द हुँदैन” उहाँले भन्नुभयो । समाजको चरित्रअनुरुपको राज्य संरचनाको खाँचो रहेको उहाँले सुझाव दिनुभयो ।

स्वतन्त्र विश्लेषक प्रशान्त सिंहले नेपालमा संक्रमणकालीन (ट्रान्जिस्नल) राजनीति चलिरहेको त्यसलाई ट्रान्सफरमेटिभ (परिवर्तनकारी) राजनीतिको खाँचो रहेको बताउनुभयो । मालिक खोज्ने प्रबृत्ति त्यागेर समस्या समाधानका लागि सामुहिकताको खाँचो उहाँले औल्याउनुभयो । थारू समुदायलाई फुटाएर माग सम्बोधन गर्ने ललिपप देखाउने प्रबृत्ति शासकहरुमा रहेको उहाँको भनाइ छ ।

थारु अगुवा सुरेन्द्र चौधरीले सामाजिक र राजनीतिक परिवर्तन रातारात सम्भव नहुने बल्की लामो दौडपछि गन्तव्यमा पुग्न सकिने बताउनुभयो । थारूसहित राज्यबाट पछाडि पारिएका समुदायले अनवरत रुपमा संघर्ष जारी राख्नुपर्ने उहाँको सुझाव छ । सबै विकासहरु थारू समुदायको घर आँगनबाटै हुने गरे पनि थारू समुदायलाई बत्तीमुनिको अँध्यारोजस्तै पार्ने काम भएको टिप्पणी गर्नुभयो । विभेद कायम राखेर समृद्धि कहिल्यै नआउने उहाँको भनाइ छ । 

जेनजी अगुवा रिजन रानामगरले थारू समुदायले माग गरेको लाल आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने बताउनुभयो । चुनाव जित्नेबेला नेताहरुले थारू समुदायको मत लिएर चुनाव जित्ने गरे पनि माग सम्बोधनमा जिम्मेवारी निर्वाह नगरेको उहाँको भनाइ छ । पहिचान, समानुपातिक समावेशीता, सहभागितालाई सुनिश्चित गराउन समिक्षा गर्दै अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

“आदिबासीको भाषा, भेषभुषा, संस्कृति सबैलाई मन पर्छ तर आदिबासी किन मन पर्दैन ?” उहाँले जिज्ञासा गर्नुभयो । शासकहरुको नजरमा आदिबासीको सवाल जहिले पनि ओझेलमा पर्नेगरेको उहाँको गुनासो छ । आदिबासी समुदाय कसैको दास नभएको बताउँदै उहाँले सामूहिक संघर्षको उहाँले खाँचो औल्याउनुभयो । 

थारु अगुवा लक्ष्मण थारुले आफू केही समय राजनीतिबाट टाढा बसे पनि राजनीतिबाट ओझेल नपरेको बताउनुभयो । शक्ति सञ्चयका लागि पनि केही समय आफू चुप बसेको बताउँदै थारु नागरिक अभियान मार्फत पुनः सक्रिय हुने बताउनुभयो । जेनजी आन्दोलनले राजनीतिक विषयमा केही हदसम्म राम्रो प्रभाव पारेको भए पनि सार्वजनिक संरचना ध्वस्त पार्ने शैली भने बेठिक भएको उहाँले बताउनुभयो । 


कृषिमा मुलुक जबसम्म आत्मनिर्भर हुँदैन, तबसम्म मुलुकमा समृद्धि सम्भव नहुने बताउँदै नेता थारुले भन्नुभयो, “देश यसरी बन्दैन । आफ्नो पेट भर्ने सामथ्र्य नरहेको देशले समृद्धि कसरी हासिल गर्छ ? त्यसका लागि कृषिमा मुलुकलाई पूर्णतः आत्मनिर्भर बनाउनै पर्छ ।” थारू समुदायले आफ्नो माग पूरा गराउन सोच र कार्यशैलीमा रुपान्तरण गर्न आवश्यक रहेको उहाँको बुझाइ छ । 

कार्यक्रमको सहजीकरण थारू नागरिक अभियानका संयोजक इन्दु थारूले गर्नुभएको थियो । ‘थारू र परिवर्तनको राजनीति, नयाँ दृष्टिकोणको खोजी’ शीर्षकमा प्यानल संवाद गराइएको भए पनि वक्ताहरुले थारू समुदायको अबको बाटो के हो ? भन्ने कुरा कसैले प्रष्ट पार्न नसकेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । 

दिग्गज वक्ताहरुलाई कार्यक्रममा ल्याएर संवाद गराइए पनि समस्याको समाधान बारेमा ठेट मार्गनिर्देश आउन नसकेको थारु अधिकारका अभियन्ता नन्दुराज चौधरीले प्रतिक्रिया दिनुभयो । ‘थारू समुदायले अब लिनुपर्ने बाटो के हो ? भन्ने बारेमा स्पष्ट धारणा आएको भए अघि बढ्न सहज हुनेथियो’, चौधरीले भन्नुभयो ।