• २ असार २०८१, आइतबार

वर्षायाममा उपत्यकाभरी मेलम्ची पानी नआउने

blog

मेलम्चीको मुहान । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ १० गते । यस वर्ष पनि वर्षायाममा मेलम्ची पानी काठमाडौँ उपत्यका नआउने भएको छ । बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएकाले यस पटकको वर्षायाममा पनि मेलम्चीको पानी उपत्यका नआउने निश्चित भएको हो । 

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार ठुलो पानी पर्ने बित्तिकै आउने लेदोका कारण सुरुङ्मार्गमा असर पर्ने भएकाले वर्षायाममा पानी पथान्तर बन्द गरिने छ । 

ठुलो पानी पर्ने बित्तिकै आउने लेदोका कारण सुरुङ्मार्गमा असर पर्ने भएकाले वर्षायाममा पानी पथान्तर बन्द गरिने छ । 

उहाँले भन्नुभयो, “सुरुङ्मार्गमा बाढी रोक्ने पूर्वाधार बनिसकेको छैन । लेदोसहितको बाढी आउनेबित्तिकै सुरुङ्मा असर गर्ने भएकाले पानी पथान्तर रोक्ने योजना बनाएका छौँ ।”

वर्षाको समय दुई महिना अवधिभर पानी उपत्यका नआउने उहाँको भनाइ छ । गतवर्ष बाढीले गरेको हेडवक्रस अहिलेसम्म नबनेकाले वर्षयाममा पानी उपत्यका पठाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । 

सामान्यतया नेपालमा जुन ८ (जेठ २८) देखि मनसुन सुरु हुन्छ । यसपालि भने मौसम विज्ञान विभागले मनसुन सुरुहुने मिति किटान गरेको छैन । ठुलो पानी पर्ने बित्तिकै पानी पथान्तर रोक्न टोली तयारी अवस्थामा रहेको समितिका कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

अघिल्लो वर्ष असार ८ गतेबाट काठमाडौँमा पानी पथान्तर कार्य रोकिएको थियो । गत वर्ष माघ १ गतेबाट मात्र उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आइरहेको छ ।

मेलम्चीको मुहानमा हाइड्रोलिक उपकरण राखे पनि गत वर्ष साउन २८ र २९ गते आएको बाढीले सुरुङको मुखमा क्षति गरेको थियो । 

सहायक सुरूङभित्र उपकरण पसाएर सफा गर्न कठिन भएकाले यसपटक सुरुङ सुरक्षाका लागि मनसुन सुरु हुनेबित्तिकै पानी पथान्तर रोकिने कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले यस पटक थप सतर्कता अपनाउने तयारी गरेका छौँ, अघिल्लो पटक बालुवा छिरेकाले सुरुङ सफा गर्न कठिन भयो । यसपटक त्यो नदोहोरियोस् भनेर सुरुमै सावधानी अपनाएका छौँ ।” 

२०७८ साल असार १ गते आएको निर्माण सकिएको पहिलो वर्षमै लेदोसहितको बाढीले आयोजनामा क्षति गरेपछि मेलम्चीको पानी वर्षायाममा उपत्यका ल्याउन समस्या भएको छ । मेलम्ची खानेपानी विकास समितिले करिब ३ करोड रुपियाँ खर्च गरेर गत माघमा अस्थायी तवरले पानी काठमाडौँ ल्याएको थियो ।

यसपटक सुरुङ सुरक्षाका लागि मनसुन सुरु हुनेबित्तिकै पानी पथान्तर रोकिने कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

जसमा बाढीले कटान गरेको पहुँच मार्ग बनाउन एक करोड र सुरुङ सफा गर्न करिब दुई करोड रुपियाँ खर्च भएको थियो । मेलम्ची खानेपानी परियोजनाको दातृ निकाय एसियाली विकास बैङ्क (एडिबी) ले अम्बाथानमा रहेको हेडवर्क्सलाई अन्यत्र सार्न सुझाएको छ । 

त्यहाँ हेडवर्क्स सार्दा करिब चार अर्ब रुपियाँ खर्च हुने प्रक्षेपण गरिएको छ । गत वर्षको कात्तिकमा खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना दिगो रूपमा सञ्चालन गर्न एसियाली विकास बैङ्कले सुझाएको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायबारे विज्ञबाट पुनरावलोकन गर्ने निर्णय समेत गरेको थियो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।