• २२ मङ्सिर २०८२, सोमबार

पहिलो डायलासिस केन्द्र सञ्चालनमा

blog

सञ्चालनको तयारीमा डायलासिस सेवा केन्द्र । तस्बिर : पुरुषोत्तम सुबेदी

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, मङ्सिर २२ गते ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो डायलासिस सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । यसको निर्माण कार्य अन्तिम अवस्थामा रहेको र छिट्टै सेवा सुरु गर्ने लक्ष्य राखिएको छ ।

यो केन्द्र पश्चिम नवलपरासी जिल्लाकै पहिलो डायलासिस सेवा केन्द्र बन्नेछ, जसबाट सुनवलका मात्र नभई सम्पूर्ण जिल्लाका मिर्गौलाका बिरामीहरूले सहज र सुलभ रूपमा सेवा पाउने अपेक्षा गरिएको छ ।

‘‘अब मिर्गौलाका बिरामीहरूले उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता हट्नेछ ।’’  नगर प्रमुख विमला अर्यालले भन्नुभयो, ‘‘हामीले गुणस्तरीय स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पु¥याउने प्रतिबद्धता गरेका छौं र यो केन्द्रले सिङ्गो जिल्लालाई लाभ पुर्‍याउनेछ ।’’

‘‘सुनवल नगरपालिकाले यस ऐतिहासिक केन्द्रको स्थापनाका लागि भवन निर्माण, आवश्यक अत्याधुनिक उपकरण जडान र विशेषज्ञ जनशक्ति व्यवस्थापनका कामहरूलाई अन्तिम रूप दिइरहेको छ ।’’ प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले भन्नुभयो, ‘‘हाम्रो लक्ष्य छिट्टै औपचारिक रूपमा सेवा सुरु गर्नु हो । यसले नगरपालिकाको स्वास्थ्य सेवा प्रणालीमा महत्त्वपूर्ण सुधार ल्याउनेछ र गरीब तथा विपन्न बिरामीहरूलाई ठुलो राहत पुग्नेछ ।’’

हालसम्म डायलासिस सेवाका लागि काठमाडौँ वा बुटवलजस्ता ठुला शहरमा धाउन बाध्य बिरामी तथा परिवारका लागि यो केन्द्र जीवन–रक्षक सुविधाका रूपमा स्थापित हुनेछ ।