• २२ मङ्सिर २०८२, सोमबार

मधेश प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद्

blog

मधेश प्रदेश सरकारको नयाँ मन्त्रिपरिषदको प्रथम बैठक ।

लक्ष्मी चौधरी

जनकपुरधाम, मङ्सिर २१ गते। मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिसँगै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम आइतबार मन्त्रालयको जिम्मेवारी तोक्दै मन्त्रिपरिषद् गठन गर्नुभएको हो।

प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११  मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ। मन्त्रीमध्ये जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ भने नेपाली कांग्रेसका जंगीला राय र नेकपा (एस) का कनिश पटेल बिना विभागीय मन्त्री तोकिनुभएको छ। 

यस्तै मुख्यमन्त्री यादवलाई भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, उद्योग वाणिज्य तथा पर्यटन, शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा जनसंख्या, ऊर्जा सिंचाइ तथा खानेपानी, खेलकुद तथा समाज कल्याण, गृह सञ्चार तथा कानून, वन तथा वातावरण, श्रम तथा यातायातसहितका मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ र पदभार ग्रहण आइतबारकै दिन सम्पन्न भएको हो।

पदभार ग्रहणपछि मुख्यमन्त्री यादवले सुशासन कायम गर्ने, सरकारबाट गर्न सकिने काम चाँडो अघि बढाइने प्रतिवद्धता व्यक्त गर्नुभयो। 

उहाँले सात दल मिलेर बनेको सरकार स्थिर रहने विश्वास व्यक्त गर्नुहुँदै मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताउनुभयो।