अमरराज नहर्की
तनहुँ, मङ्सिर २२ गते । तनहुँमा बालबालिकालाई लक्षित स्वर्णविन्दु प्राशन कार्यक्रम सोमबार दोस्रो पटक सञ्चालन गरिएको छ । प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीले एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै यो सेवा प्रदान गर्दै आएको हो । पहिलो चरण सफलरूपमा सञ्चालन भएपछि आज पुनः दोस्रो चरणमा प्राशन खुवाउन थालिएको हो ।
प्रदेश आयुर्वेद चिकित्सालय तनहुँका प्रमुख डा. नारायण श्रेष्ठका अनुसार स्वर्णविन्दु प्राशन बिहान ७ देखि १० बजेसम्म खुवाइनेछ । कार्यक्रम सुरु भएको पहिलो वर्ष भएकाले सहभागी बालबालिकाको सङ्ख्या निश्चित नभए पनि सेवा क्रमशः सहज र व्यवस्थापनमैत्री बन्दै जाने विश्वास चिकित्सालयले जनाएको छ ।
नेपालका २५ जिल्लामा यो वर्षबाट स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु गरिएको छ । प्रत्येक पुष्य नक्षत्रको मितिमा बालबालिकालाई प्राशन गराइने छन् । तनहुँमा अबको तेस्रो चरण आगामी पुस २१ गते कुशे÷पुष्य नक्षत्र अनुसार खुवाइनेछ ।
डा. श्रेष्ठका अनुसार स्वर्णविन्दु प्राशन यस अघि कात्तिक २५ खुवाइएको थियो । आज मङ्सिर २२ गते खुवाइएको छ । त्यसैगरी, पुस २१, माघ १८, फागुन १६, चैत १४, वैशाख १०, जेठ ६, असार ३, साउन ९, भदौ ५ र असोज २९ गते गराइनेछ । स्वर्णभस्म, घिउ र महको उचित मात्रा मिश्रणबाट तयार हुने यो प्राशन चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र खुवाइन्छ ।
नेपाल सरकारले तोकेको कार्यविधि अनुसार १–२ वर्षका बालबालिकालाई दुई थोपा र २–५ वर्षका बालबालिकालाई चार थोपा स्वर्णविन्दु प्राशन प्रत्येक महिनाको पुष्य नक्षत्रमा खुवाइने चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईं बताउनुभयो ।
स्वर्णविन्दु प्राशनले बालबालिकाको तौल र उचाइ वृद्धि, बुद्धिको विकास, रोगसँग लड्ने क्षमता मजबुत बनाउनेजस्ता फाइदा हुने चिकित्सकालयका आयूर्वेदक चिकित्सक डा. किरणचन्द्र पौडेल बताउनुहुन्छ । यस अघि २१० जना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइको चिकित्सालयले जनाएको छ ।