• २ असार २०८१, आइतबार

मतगणना स्थलमा सीसी क्यामेरा जडानसहितको तयारी

blog

अविनाश चौधरी
धनगढी, वैशाख २९ गते ।
कैलालीको मतगणनास्थलमा सीसी क्यामेरा जडानसहितको तयारी गरिएको छ ।

मतगणना कार्यलाई थप विश्वसनीय बनाउन र हुन सक्ने धाँधलीलाई रोक्नका लागि सीसी क्यामेरा जडानसहित मतगणना स्थल तयार पारिएको हो । १३ वटै पालिकाको मतगणना धनगढी उपमहानरपालिकाको नयाँ भवनस्थित सभा हलमा गरिने निर्वाचन आयोगको कार्यालय धनगढीले जानकारी दिएको छ ।

मतगणना गरिने हलमा तारबार नलगाइएको तर पर्खाल जस्तै केही अग्लो बनाएर मतगणनाको कार्य गरिने आयोग कैलालीका प्रमुख प्रेमराज भट्टले बताउनुभयो । उहाँले तीन वटा सभा हलमा मतगणना हुने उल्लेख गर्नुभयो । ‘‘मतगणना गर्ने सभा हलमा सीसी क्यामेरा लगाइ सकिएको छ’’, उहाँले भन्नुभयो । वैशाख ३० गते शुक्रबार सम्पन्न हुने निर्वाचनको मतगणना कार्य सीसी क्यामेराको निगरानीमा हुनेछ ।

निर्वाचन सम्पन्न भएपछि सबै पालिकाको मतदान केन्द्रबाट मतदान अधिकृतसहित सुरक्षाकर्मीले मत पेटिका ल्याउने भट्टले बताउनुभयो । ‘‘सबै मत पेटिका ल्याउने जिम्मेवारी सुरक्षाकर्मीलाई दिइएको छ’’, उहाँले भन्नुभयो, ‘‘मत पेटिकासँगै मतदान अधिकृतहरुलाई पनि सुरक्षाकर्मीहरुले ल्याउनुहुन्छ ।’’