• २ असार २०८१, आइतबार

महोत्तरीमा निर्वाचनको तयारी पूरा, सुरक्षा व्यवस्थामा कडाइ

blog

महेशकुमार दास
जलेश्वर, वैशाख २९ गते ।
महोत्तरीमा शुक्रबार हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै पालिकामा रहेको २५८ मतदान स्थल र ४९७ मतदान केन्द्रमा निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय महोत्तरीले जनाएको छ ।

‘‘मतदान कार्य सम्पन्न गर्नका लागि आवश्यक पर्ने सामग्रीसहितको जनशक्ति सबै मतदान केन्द्रसम्म पुगि सकेका छन् ।’’ मुख्य निर्वाचन अधिकृत दीपकप्रसाद खरेलले भन्नुभयो, ‘सबै मतदान केन्द्रहरुमा खटिएका कर्मचारीहरुले सुरक्षा घेरा तयारी गर्ने, महिला पुरुष र अशक्त अपाङ्गका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको, मतदाता परिचनयपत्र वितरण गर्ने, मतदानको तरिकाबारे जानकारी दिने कार्य रहेका छन्, बिहीबार साँझसम्म सम्पूर्ण तयारी पूरा भइसक्नेछ ।’’

स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सुरक्षा व्यवस्था समेत कडा पारिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले गस्ती कार्यलाई तीव्र पारिएका छन् भने चुनावको बेला उच्छृङ्खल समूहलाई अपराधिक गतिविधि गर्न नदिन निगरानी बढाइएको छ । 

‘‘मतदानस्थल र केन्द्रको सुरक्षा संवेदनशीलताबारे अध्ययन गरिएको र सोहि अनुरुप सुरक्षा व्यवस्था मिलाइएका छौं ।’’ प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भन्नुभयो, ‘‘मतदाताले भयमुक्त वातावरणमा मत हाल्ने पाउने व्यवस्था गरिएको छ, निर्धक भएर मतदान गर्न मतदातालाई हाम्रो अपिल छ ।’’

महोत्तरीमा १५ स्थानीय निकायमध्ये पाँच वटा स्थानिय निकाय भारतीय सीमासँग जोडिएको  छ । भारतीयसँग सीमा जोडिएको मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, मनरासिस्वा नगरपालिका, सम्सी गाउँपालिका र सोनमा गाउँपालिका गरी पाँच स्थानीय निकायअन्तर्गत पर्ने ३८.४ किलोमिटर सीमा सिल गरिएको छ भने विशेष सुरक्षा व्यवस्था गरिएको जानकारी दहालले दिनुभयो ।

‘‘स्थानीय चुनावमा खुल्ला सीमाको फाइदा उठाउँदै अपराधीक समूहले चलखेल गर्न सक्ने सम्भावनालाई ध्यानमा राखि सीमा सिल गरिएको छ ।,’’ प्रजिअ दहालले भन्नुभयो, ‘‘सीमा सिल भएको अवधिमा कुनै कसैलाई पनि सीमावर्ती क्षेत्र भएर आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको छ ।’’ सीमा सिल गरिएपछि महोत्तरीको सीमावर्ती क्षेत्र भएर सवारी साधान अवागमन पूर्णरुपमा ठप्प छ ।

उहाँले सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन नेपाल–भारतको सुरक्षा निकायको संयुक्त गस्ती टोलीले सीमावर्ती क्षेत्रमा परिचालन गरिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा तीन लाख ३६ हजार ९५ मतदाता छन् ।