• ८ वैशाख २०८३, मङ्गलबार

सुरक्षित आवासको व्यवस्था

blog

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा निर्माण गरिएको सुरक्षित आवास ।तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, वैशाख ८ गते  । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ६५ वर्षीय राजेन्द्र माझीे पक्की घर पाएपछि निकै खुसी हुनुहुन्छ । बर्सौंदेखि चुहिने फुसको छाप्रोमा कष्टकर जीवन बिताउँदै आएका उहाँ अहिले पक्की घरमा ढुक्कले बस्न पाएपछि खुसी हुनुभएको हो । 

उहाँ यसअघि तीन धुर जमिनमा बनेको दुई कोठाको सानो छाप्रोमा दुई छोराबुहारी र पाँच नातिनातिनासँगै बस्दै आउनुभएको थियो । उहाँका अनुसार वर्षामा पानीमा भिजेर बस्नुपर्ने र शीतलहरमा चिसोले कठ्याङ्ग्रिएर बस्नुपर्ने बाध्यता थियो । 

उहाँले भन्नुभयो, “यो जुनीमा यति राम्रो पक्की घरमा सुत्न पाउँछु भनेर कल्पना नै गरेको थिइनँ । अब त केवल कमाएर परिवार पाल्नु छ, बस्ने चिन्ता हटेको छ ।” मान्छेलाई बाँच्नका लागि खानासँगै घर पनि चाहिन्छ भन्दै उहाँले आर्थिक अभावका कारण एउटा घरसम्म बनाउन नपाएको भावुक हुँदै सुनाउनुभयो । 

त्यस्तै सोही ठाउँकी निरो देवी पनि शौचालय र भान्सासहितको सुरक्षित पक्की घर पाएपछि हर्षित हुनुहुन्छ । उहाँले भन्नुभयो, “हामी बर्सौंदेखि फुसकै घरमा थियौँ, अहिले शौचालयसहितको पक्की घर पाउँदा सपना जस्तै लागेको छ ।” 

ह्याबिटेट फर ह्युमिनिटी नेपाल र मुखियापट्टी मुसहरनिया गाउँपालिकाको आर्थिक सहयोग तथा रतौली युवा क्लबको प्राविधिक एवं व्यवस्थापकीय सहकार्यमा सुरक्षित आवास सुदृढीकरण परियोजना अन्तर्गत स्थानीय १४ अव्यवस्थित घरपरिवारका लागि घर निर्माण गरिएका छन् । रतौली युवा क्लबका कार्यव्रmम संयोजक नीरजकुमार सिंहले अव्यवस्थित १४ घरपरिवारका लागि सुरक्षित आवास निर्माण गरेर हस्तान्तरण गरिसकेको र थप १६ वटा घर निर्माणको चरणमा रहेको बताउनुभयो । 

उहाँले एउटा घर निर्माणमा छ लाख ४२ हजार रुपियाँभन्दा बढी खर्च लागेको बताउँदै तीन लाख ५५ हजार गाउँपालिका, दुई लाख ३० हजार ह्युमिनिटी नेपाल र सम्पूर्ण लागतको १० प्रतिशत बराबरको श्रमदान घर प्राप्त गर्ने घरपरिवारले गरेको बताउनुभयो । संयोजक सिंहले प्रत्येक परिवारका लागि दुई वटा कोठा, भान्सा, शौचालय र चापाकल निर्माण गरिएको जानकारी दिनुभयो । 

उहाँले प्रकृतिमैत्री, भूकम्पको कम जोखिम र कम लागतमा घर निर्माण गरिएको बताउँदै बाँसको अधिक प्रयोग गरिएको बताउनुभयो । उहाँका अनुसार धुरीखाँबो, बेरा र छानामा समेत बाँसकै प्रयोग गरिएको छ । प्रशोधित बाँसको प्रयोग गरिएकाले ४० वर्षभन्दा बढी घर टिक्ने उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार ह्युमिनिटी नेपाल र गाउँपालिकाको आर्थिक सहयोगमा सामुदायिक सुधार केन्द्र धनुषाले २६ वटा यस्तै घर निर्माण गर्ने तयारी गरेको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले अव्यवस्थित बसोबासीका लागि प्रकृतिमैत्री बाँसको घर बनाइदिएको बताउनुभयो । उहाँले नागरिकका लागि सुरक्षित आवासका लागि नगरपालिकाले यो योजना अघि बढाएको जानकारी दिनुभयो ।