• ८ वैशाख २०८३, मङ्गलबार

विवादास्पद अडियो प्रकरण : सप्तरीका एसपी केसीमाथि छानबिन गर्न पाँच सदस्यीय टोली परिचालन

blog

विवादास्पद संवादबारे पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रहरी उपरीक्षक गौतमकुमार केसी । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, वैशाख ८ गते । सामाजिक सञ्जालमा भाइरल बनेको विवादास्पद फोन संवाद प्रकरणमा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीमाथि छानबिन अघि बढाइएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले घटनाको यथार्थ बुझ्न प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको नेतृत्वमा पाँच सदस्यीय टोली खटाएको हो ।

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार टोलीमा प्रहरी वरिष्ठ उपरीक्षकसहित प्रहरी उपरीक्षक, नायब प्रहरी उपरीक्षक र प्रहरी निरीक्षक लगायतका अधिकृत रहनुभएको छ । उहाँले यो औपचारिक छानबिन समिति नभई घटनाको वास्तविकता बुझ्न पठाइएको टोली भएको जानकारी दिनुभयो । टोलीले स्थलगत अध्ययन गरी सोमबार साँझ फर्किसकेको र हाल प्रतिवेदन तयार भइरहेको छ । सोही प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइने र दोषी देखिए थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने थपलियाले बताउनुभयो ।

गत आइतबारदेखि सार्वजनिक बहसको विषय बनेको अडियो क्लिपमा एसपी केसी र एक युवकबिचको संवाद रहेको दाबी गरिएको छ । क्लिपमा राजविराज–३ का मुस्तकिम आलमलाई लक्षित गरी एसपीले धम्कीपूर्ण अभिव्यक्ति प्रयोग गरेको सुनिन्छ, जसको चौतर्फी आलोचना भइरहेको छ । यसअघि आलमले सामाजिक सञ्जालमार्फत एसपी केसीले आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै प्रमाण सार्वजनिक गर्ने चेतावनी दिनुभएको थियो । त्यसको केही समयमै अडियो क्लिप सार्वजनिक भएपछि विवाद झन् चर्चामा आएको हो ।

यता एसपी केसीले सोही दिन साँझ पत्रकार सम्मेलन गर्दै आफूमाथि लगाइएको आरोप अस्वीकार गर्नुभएको छ । उहाँले उक्त संवाद तोडमोड गरिएको हुन सक्ने दाबी गर्दै आफूले कुनै गालीगलौज वा धम्की नदिएको जिकिर गर्नुभयो ।

यसैबिच, जिल्ला प्रहरी कार्यालय सप्तरीले खण्डन जारी गर्दै अपुष्ट सामग्रीका आधारमा कसैको चरित्रहत्या हुने गरी सामाजिक सञ्जाल प्रयोग नगर्न आग्रह गरेको छ । साथै, भ्रामक सूचना फैलाएको पाइएमा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।