• ८ वैशाख २०८३, मङ्गलबार

दाङमा सवारी दुर्घटना बढ्दो

blog

घोराही–लमही सडकखण्डमा केही समयअघि दुर्घटनामा परेको सवारी साधन । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता 

घोराही, वैशाख ८ गते । दाङमा दुई बर्षको अवधिमा सवारी दुर्घटनामा एक सय ३९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१-०८२ मा ८१ जना र चालु आर्थिकको चैत महिनामा ५८ जना गरेर एक सय ३९ जनाको मृत्यु भएको हो । 

चालु आर्थिक वर्ष २०८२-०८३ को चैत महिनासम्म जिल्लाका विभिन्न स्थानमा दुई सय ८७ वटा सवारी दुर्घटना हुँदा ५८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभएको छ । उहाँका अनुसार दुर्घटनामा चार सय ६५ जना घाइते भएका छन् ।   

आर्थिक वर्ष २०८१-०८२मा तीन सय ६२ वटा सवारी दुर्घटनामा ८१ जनाको मृत्यु हुँदा छ सय दुई जना घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय दाङको तथ्याङ्क अनुसार उक्त वर्ष चैत महिनासम्मको नौ महिनाको अवधिमा दुई सय ५७ वटा दुर्घटनामा ६७ जनाको मृत्यु र तीन सय ७४ जना घाइते भएका थिए ।  

जिल्लामा पछिल्लो समय घोराही–तुलसीपुर सडक खण्डमा बढी दुर्घटना हुने गरेका छन् । ट्राफिक प्रहरीका अनुसार निर्माणाधिन अवस्थामा रहेका घोराही–तुलसीपुर सडकखण्डमा पाँच महिनाको अवधिमा एक सय ४४ वटा दुर्घटना भएका छन् ।

उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने एक सय ५८ जना घाइते भएको प्रहरी निरीक्षक बम बताउनुहुन्छ । मङ्सिर महिनादेखि सुरु भएको सडक निर्माण कार्यसँगै दुर्घटनाको जोखिम बढेको प्रहरी निरीक्षक बमले बताउनुभयो । उहाँका अनुसार पाँच महिनाको अवधिमा मोटरसाइकल ९९ वटा, ट्याक्टर-अटो १६ वटा, ट्रक १५ वटा, कार-जीप ११ वटा र बस तीन वटा दुर्घटना भएका छन् ।   

सडक निर्माणका क्रममा सडकको दुवैतर्फ गरिएको कटान एवं कल्भर्ट निर्माणका लागि सडकको विभिन्न स्थानमा खनिएका खाडलका कारण दुर्घटना बढेका छन् । चालकको लापरबाहीका कारण कल्भर्ट निर्माण हुन थालेका जोखिमपूर्ण स्थानमा सचेतना मुलक सूचना बोर्ड, स्टिकर राख्नका साथै खाडलको अगाडी माटोको ढिस्को उठाउने काम गरिए पनि दुर्घटना भइरहेको बताउनुभयो । 

घोराही–तुलसीपुर सडक खण्डसँगै घोराही–लमही सडक, पूर्व–पश्चिम मुख्य राजमार्ग, हुलाकी सडकलगायतका अन्य स्थानमा पनि दुर्घटना हुने गरेको बताउनुभयो ।

निर्माणाधिन सडकको कमजोर भौतिक अवस्था, सवारी साधनको अत्यधिक गति, मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने प्रवृत्तिसँगै ट्राफिक नियमको उल्लङ्घन सवारी दुर्घटना बढ्नुको प्रमुख कारण रहेको भन्दै प्रहरी निरीक्षक बमले भन्नुभयो,‘दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना गर्नु अनिवार्य रहेको छ ।’