• ८ वैशाख २०८३, मङ्गलबार

पुरातत्व विभागका तत्कालीन इन्जिनियरसहित दुई जनाविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख ८ गते ।  पुरातत्व विभागका तत्कालीन इन्जिनियर पूर्णबहादुर श्रेष्ठ (सिनियर डिभिजनल इन्जिनियर)सहित दुई जनाविरुद्ध चार करोड २२ लाख ७५ हजार ९८५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धन आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार इन्जिनियर श्रेष्ठ र सो विभागका सहायक पथ प्रदर्शक देउकला अधिकारीविरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको छ । 

निर्माण सेवा प्रालि. ले एकल वा संयुक्त उपक्रम (जेभी) मा समावेश भई पुरातत्व विभागले गरेको ठेक्का सम्झौतामध्ये कुल जम्म रकम ६४ करोड २१ लाख ८९ हजार ६०३ रुपियाँ बराबरको ठेक्कामा प्रतिवादी श्रेष्ठ  खरिद प्रक्रियामा सङ्लग्न रहेको र निजले सो ठेक्कामा घुस माग गरी सहजीकरण गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ । 

आयोगका अनुसार पथ प्रदर्शक अधिकारीको बैँक खातामा विभिन्न मितिमा पटक–पटक गरी घुस बापतको रकम चार करोड २२ लाख ७५ हजार ९८५ रुपियाँ दाखिला गरे गराएको पुष्टि भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुविरुद्ध चार करोड २२ लाख ७५ हजार ९८५ रुपियाँ बिगो रकम कायम गरी सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।