सचिन पोखरेल
इटहरी, वैशाख ८ गते । पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोह मङ्गलबार सम्पन्न भएको छ । मोरङ जिल्लाको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा विभिन्न सङ्काय अन्तर्गत स्नातक, स्नातकोत्तर र एमफिल तहका गरी कुल ६ हजार ७०६ विद्यार्थी दीक्षित भएका छन् । यसलाई विश्वविद्यालयको हालसम्मकै उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ ।
विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुस्मित पोखरेलको अध्यक्षतामा आयोजित समारोहमा स्नातक तहबाट ५ हजार २८८, स्नातकोत्तर तहबाट १ हजार ४१३ र एमफिल तहबाट ५ जना विद्यार्थी दीक्षित भएका हुन् ।
सङ्कायगत रूपमा व्यवस्थापन सङ्काय अग्रस्थानमा रहँदै २ हजार २६४ विद्यार्थी दीक्षित भएका छन् । त्यस्तै, इन्जिनियरिङ सङ्कायबाट १ हजार २६२, शिक्षा सङ्कायबाट ९९८, विज्ञान तथा प्रविधि सङ्कायबाट ७४७, चिकित्सा तथा सहायक स्वास्थ्य विज्ञान सङ्कायबाट ६२४, कानुन सङ्कायबाट ६२२ र मानविकी तथा सामाजिक विज्ञान सङ्कायबाट १८५ जना विद्यार्थी दीक्षित भएका छन् । समारोहमा विभिन्न सङ्कायका उत्कृष्ट विद्यार्थीलाई पदक, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो ।
समारोहका प्रमुख अतिथि स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान (पिजिआई) चण्डीगढका निर्देशक प्राडा. विवेक लालले विश्वविद्यालयले नेपाली विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सिप प्रदान गर्दै आएकामा प्रशंसा गर्नुभयो । उहाँले विश्वव्यापी प्रतिस्पर्धाको युगमा उच्च शिक्षालाई अनुसन्धानमुखी, नवप्रवर्तनशील र रोजगारमुखी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयहरूलाई दलीय राजनीतिबाट मुक्त राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शैक्षिक संस्थाहरूलाई स्वतन्त्र, निष्पक्ष र गुणस्तरीय बनाउनु आजको आवश्यकता हो । राजनीतिक हस्तक्षेपले शैक्षिक गुणस्तरमा असर पार्न सक्छ, त्यसैले यसलाई न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक छ ।”
वि.सं. २०५२ मा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालय हाल पूर्वी नेपालमा उच्च शिक्षाको एक महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित भइसकेको छ । विश्वविद्यालयमा हाल ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । पछिल्ला वर्षहरूमा विश्वविद्यालयले नयाँ कार्यक्रमहरूका साथै यसै वर्षदेखि एमबिबिएसको कक्षा सञ्चालन र विविध अनुसन्धान एवं प्राविधिक शिक्षामा जोड दिँदै आएको छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा. विजु कुमार थपलियाले दीक्षित विद्यार्थीलाई विश्वविद्यालय इँटा र सिमेन्टको भौतिक संरचना मात्र नभई रूखको जरा जस्तै शैक्षिक प्रतिष्ठान रहेको उल्लेख गर्दै प्राप्त ज्ञानलाई समाजको हितमा लगाउन आग्रह गर्नुभयो ।