• ८ वैशाख २०८३, मङ्गलबार

दुहबीमा चैते धान प्रवर्धन कार्यक्रम, कृषकलाई अनुदानमा कृषि सामग्री

blog

धान उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले सुनसरीको दुहबी नगरपालिकाले सञ्चालन गरेको चैते धान प्रवर्धन कार्यक्रमका लाभग्राही कृषक । तस्बिर : जयकृष्ण यादव ।

जयकृष्ण यादव । 

इनरुवा, वैशाख ८ गते ।धान उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले सुनसरीको दुहबी नगरपालिकाले चैते धान प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ ।

नगरको २० बिघा क्षेत्रफलमा चैते धान प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको र कार्यक्रम अन्तर्गत कृषकलाई आठ लाख रुपियाँ बराबरका कृषि सामग्री, बिउँ, मल तथा विषादी वितरण गरेको छ ।

दुहवीका नगर प्रमुख बेदनारायण गच्छदारले दुहबी वडा नम्बर १ र ७ नम्बर वडाका ३५ जना कृषकलाई लक्षित गर्दै चैते धान प्रवर्धन कार्यक्रमको उद्‌घाटन गर्नुभएको छ ।

स्थानीय कृष्ण कृषि फार्म प्रास्टोकीमा आयोजित कार्यक्रममा ५० प्रतिशत अनुदानमा ६ थान मिनी टिलर, चार थान मोटर सेट, २५ थान त्रिपाल, २५ थान स्प्रे मेसिन, २५ थान समर सेट, २५ थान कोदालो, छ सय केजी धानको बीउ, छ सय केजी जिङ्क, तीन सय बोरा भर्मीक कम्पोस्ट मल तथा विभिन्न विषादी वितरण गरिएको थियो ।

कार्यक्रममा कृषि शाखा प्रमुख अजय गौतम, कृषिफर्मका अध्यक्ष हिरालाल माझी लगायत कृषक समूहको उपस्थिति रहेको थियो ।सामग्री हस्तान्तरणपछि नगरप्रमुख गच्छादारले नेपालमा आवश्यक करिब ६० हजार टन धानमध्ये हाल ५७ हजार टन मात्रै उत्पादन हुने भएकाले खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न चैते धान प्रवर्धन अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले कृषकलाई समेट्दै चैते धानप्रति आकर्षण बढाउन नगरपालिका सक्रिय रूपमा लागेको बताउनुभयो । कृषिमा आधारित जनसङ्ख्या बढी रहेको दुहबी नगरपालिकालाई कृषिकै माध्यमबाट रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनाउन सकिने विश्वास व्यक्त गर्दै गच्छदारले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने र आगामी दिनमा पनि कृषकको आवश्यकता अनुसार नगरपालिका अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । 

नगरपालिकाले कृषि विकास शाखामार्फत सिँचाइ उपकरण तथा बीउबिजन अनुदानमा उपलब्ध गराउँदै हिउँदमा बाँझो रहने खेतमा सिँचाइ व्यवस्थापन गरी धान खेतीतर्फ कृषकलाई प्रोत्साहन गरेको जनाएको छ ।