• ७ जेठ २०८१, सोमबार

स्थानीय निर्वाचन

उपत्यकाको सुरक्षा व्यवस्था कडा : तीन हजार सुरक्षाकर्मी परिचालन

blog

तस्बिर: केशब गुरुङ

काठमाडौं, वैशाख २९ गते। शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ। देशको संघीय राजधानीसमेत रहेको काठमाडौंमा चुनाव केन्द्रित सुरक्षा व्यवस्था कडा पारिएको हो। 

नेपाल प्रहरीका प्रवक्ता विष्णुबहादुर केसीले काठमाडौं उपत्यकाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी दुई दिनदेखि खटिसकेको बताउनुभयो। उहाँका अनुसार सुरक्षाका लागि  नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र  राष्ट्रिय अनुसन्धान विभागका गरेर तीन हजार सुरक्षाकर्मी र चार हजार पाँच सय म्यादी प्रहरी परिचालन गरिएको छ। 

सबै राजनीतिक दलबीच आपसी सम्बन्ध राम्रो रहेकाले मतदान अवधिभरको समय शान्तिपूर्ण नै रहने विश्वास प्रहरीको छ। ‘सबै राजनीतिक दलबीचको आपसी सम्बन्ध राम्रो छ। अहिलेसम्म सामान्य विवादबाहेक अन्य हिंसात्मक घटना भएका छैनन्। यसकारण मतदान अवधिसम्म नै अवस्था शान्तिपूर्ण हुने आशा छ,’ उहाँले भन्नुभयो। 

काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार जिल्लामा मतदान अवधिभर कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। जिल्लाको भौगोलिक अवस्थालाई ध्यान दिएर तीन तहमा सुरक्षा व्यवस्था गरिएको उहाँको भनाइ छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने पौडेलले बताउनुभयो। 

अप्रिय घटना भए पाँच मिनेटमै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने व्यवस्था गरिएको छ।  निर्वाचन सुरक्षा व्यवस्थाका लागि आवश्यक प्रक्रिया बुधबार नै पूरा भएको उहाँको भनाइ छ। ‘जिल्लाको हकमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्थालाई कडा पारिएको छ,’ पौडेलले भन्नुभयो, ‘चुनावका दिन कुनै अप्रिय घटना भए तत्काल सुरक्षाकर्मी पुग्ने व्यवस्था गरिएको छ।’

यस्तै, भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माले जिल्लाको सुरक्षा व्यवस्था कडा रहेको बताउनुभयो। जिल्लामा रहेका ७७ वटा मतदानस्थलमध्ये ३७ वटा संवेदनशील, ४० वटा सामान्य संवेदनशील मतदानस्थल रहेको उहाँको भनाइ छ । जिल्लाको हकमा १५ सय हाराहारीमा सुरक्षाकर्मी खटिएको शर्माको भनाइ छ। ‘जिल्लामा अतिसंवेदनशील मतदानस्थल छैनन्। तर, संवेदनशील र सामान्य संवेदनशील मतदानस्थल भएका कारण सुरक्षा व्यवस्थालाई कडा बनाएका छौँ,’ शर्माले भन्नुभयो।

सँगै ललितपुरका सहायक प्रजिअ हरिप्रसाद पन्तले जिल्लाको सुरक्षा व्यवस्था कडा रहेको बताउनुभएको छ। ललितपुरमा १३१ मतदानस्थल र २८८ वटा मतदान केन्द्र छन्। हिंसात्मक गतिविधि नहोस् भनेर मतदान अधिकृतले राजनीतिक दलसँग सुरक्षा व्यवस्थासँग सम्बन्धि छलफलसमेत गरिराख्नुभएको छ।  

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।