चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १४ गते । कोशी प्रदेश पर्यटन भ्रमण वर्ष २०८२ को अवसर पारेर ताप्लेजुङस्थित टिपताला भ्रमण गर्ने कार्यक्रमको तयारी गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा स्थित टिपताला भञ्ज्याङको भ्रमण गर्ने तयारी गरिएको हो ।
ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँको आयोजनामा ‘ओलाङ्चुङगोला–सिङ्जेमा–टिपताला भञ्ज्याङ पर्यटन प्रवर्द्धन कार्यक्रम’ को तयारी गरिएको हो । पर्यटकीय गन्तव्य टिपताला भञ्ज्याङसम्म भ्रमण गर्ने गरी कार्यक्रमको तयारी गरिएको सरोकार केन्द्रले जनाएको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँका महासचिव अशोक प्यासी राईका अनुसार आउँदो चैत २८ देखि २०८३ साल वैशाख ६ गतेसम्मको भ्रमण कार्यक्रमको तयारी गरिएको छ ।
आयोजक टोलीले काठमाडौँदेखि धरान हुँदै तीनजुरे–मिल्के–जलजले (टीएमजे), साँघु–दोभान–फुङ्लिङ, लेलेप–ओलाङ्चुङगोलादेखि टिपतालासम्म पुग्ने योजना बनाएको कार्यक्रम संयोजक मिङ्मा डण्डु लामाले जानकारी दिनुभयो । टिपताला भञ्ज्याङसँगै सोही क्षेत्रमा पर्ने अर्को आकर्षक पर्यटकीय गन्तव्य सिङ्जेमा तालको भ्रमण गर्ने पनि आयोजकले जनाएको छ ।
प्राकृतिक सुन्दरताले भरिभराउ पर्यटकीय गन्तव्यसँगै यहाँका छुट्टै सांस्कृतिक र धार्मिक दृष्टिकोणले पनि पर्यटन प्रवर्द्धनसहित भ्रमण कार्यक्रम प्रभावकारी हुने आयोजकको विश्वास छ । यो भ्रमण कार्यक्रम कोशी प्रदेश पर्यटन भ्रमण वर्ष २०८२ तथा कोशी प्रदेश सरकारसँग समन्वय गरेर आयोजना गरिएको सरोकार केन्द्रले जनाएको छ ।
यता नयाँ वर्ष २०८३ को उमङ्गसँगै आयोजना गरिएको टिपताला भञ्ज्याङ भ्रमण कार्यक्रमले ताप्लेजुङसहित समग्र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा राखिएको सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले बताउनुभयो । अध्यक्ष तामाङले भ्रमणलाई सफल बनाउन कार्यक्रममा सहभागी भइदिन सबैलाई अनुरोधसमेत गर्नुभएको छ ।
भ्रमण गर्न लागिएको क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला पनि एक पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको गोला बस्ती, यहाँ रहेको करिब ४५० वर्ष पुरानो ऐतिहासिक दिकी छ्योलिङ गुम्बा र एउटै भोटे समुदायको मात्र बसोबास रहेका कारण ओलाङ्चुङगोला पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ ।
त्यस्तै ओलाङ्चुङगोलाभित्रै पर्ने पाँच हजार १०० मिटर उचाइ रहेको टिपताला भञ्ज्याङ, चार हजार ७०० मिटरको उचाइमा अवस्थित सिङ्जेमा ताल आकर्षक पर्यटकीय गन्तव्य हुन् ।
प्राकृतिक सुन्दरतासँगै सो क्षेत्रमा पाइने वन्यजन्तु, वनस्पति आदिका कारण पर्यटक आकर्षित हुने गरेका छन् । पश्चिम दार्चुला जोड्ने बृहत् पदमार्ग (ग्रेट हिमालय ट्रेल) को सुरुआत बिन्दु यही ठाउँमा पर्दछ । पदयात्रामार्फत बाक्लै सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने यी गन्तव्यमा पुग्न सडक पहुँचको अभाव रहेको छ।