• १४ चैत २०८२, शनिबार

लोचा खोलामा पक्की पुल बन्न सुरु

blog

लोचा खोलामा पक्की पुलको शिलान्यास गर्दै कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका निर्वतमान मन्त्री भूपेन्द्र राईलगायत ।

राजकुमार भट्टराई

खोटाङ, चैत १४ गते । खोटाङको रावा बेसी गाउँपालिका –६ हौँचुर र वडा नं. १ कुभिण्डे जोड्ने लोचा खोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका निर्वतमान मन्त्री भूपेन्द्र राईले पुलको शनिबार शिलान्यास गर्नुभएको हो । 

भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षे योजनाकोरुपमा लोचा खोलामा पुल निर्माणको काम सुरु भएको छ । उक्त मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय दिक्तेलमार्फत आरके देन्धुप जेपी निर्माण कम्पनीले २ करोड ८९ लाख ७५ हजार २८८ रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको छ । 

२०८४ जेठ ३१ गते सम्ममा सम्पन्न गर्ने गरी ०८२ माघ १३ गते ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताउनुभयो । निर्माण कम्पनीले कामलाई तिव्रता दिए बजेट अभाव हुन नदिने कार्यालय प्रमुख दाहालको भनाइ छ ।

पुल निर्माणको काममा ढिलासुस्ती नगर्न निवर्तमान मन्त्री राईले निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । प्रदेशबाट विनियोजित बजेटबाट भइरहेका हरेक योजनाको निरन्तर अनुगमन गर्ने र समयमै काम सम्पन्न गर्न आफु लागिरहेको उहाँको भनाइ छ । ठेक्का सम्झौता पश्चात पुल निर्माणको काम सुरु गरेका निर्माण व्यवसायी बुद्धि बहादुर मगरले पनि सम्झौता समय भन्दा अगाडीनै काम सम्पन्न गर्ने बताउनुर्भको छ । हाल पुल निर्माणको काम धमाधम भइरहेको छ ।

हिउँदमा पानीको बहाव कम भएपनि बर्खामा लोचा खोलाबाट सवारी साधन वारपार गर्न कठिनहुँदै आएको छ । मोटरसाइकल तार्न हरेक वर्ष श्रमदानमार्फत काठेपुल निर्माण गर्ने गरिएको छ । चाडै पुल निर्माण भएर स्थानीय नागरिकको उक्त बाध्यता अन्त्य हुने उनीहरुले विश्वास लिएका छन् । अन्त्यन्तै आवश्यक ठाउँमा पुल निर्माण सुरु भएको भन्दै स्थानीय सरोज राईले खुशी ब्यक्त गर्नुभएको छ । 

लोचा खोलाले बर्खामा हरेक वर्ष मान्छे बगाएर मृत्यु हुने गरेको सम्झदै अब त्यस्तो दिन नआउने स्थानीय रामबहादुर राईको विश्वास छ । 

मानिस वारपार गर्न सडकभन्दा केही माथि झोलुङ्गे पुल निर्माण गरिएको छ । सडकबाट झोलुङ्गे पुल टाढा रहेकाले मोटरसाइकल खोलाबाटै तार्नुपर्ने समस्या छ । जसकारण मोटरसाइकल वारपार गराउन बर्खामा काठे पुल निर्माण गर्ने गरिएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्की बताउनुहुन्छ । चाडै पुल निर्माण भए उक्त समस्य अन्त्य हुने उहाँको भनाइ छ ।