• २ असार २०८१, आइतबार

सर्लाहीका मतगणनास्थलमा तारजाली र सीसी क्यामेराको व्यवस्था

blog

जनार्जन खत्री
सर्लाही, वैशाख २९ गते ।
सर्लाहीमा मतगणना हुने २० वटै पालिकामा तारजाली हालेर मतगणनास्थल तयार पारिएको छ ।

शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचन पश्चिात जिल्लाको ११ वटा नगरपालिका र नौ वटा गाउँपालिकाको कार्यालय रहेको भवनमा मतगणना हुने भएको छ ।

मतगणनास्थललाई तारजाली हालेर तयार पारिएको र सबै स्थानमा सीसी क्यामेरा जडान गरिएको सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत पियाका अनुसार, सर्लाहीमा मतगणनास्थल निर्माणसँगै शुक्रबार हुने मतदानको समेत सम्पूर्ण तयारी पूरा भएको छ ।

जिल्लाभर रहेका ५९९ मतदानस्थलमा मतदान केन्द्र निर्माणसहित अन्य तयारीको काम समेत भइसकेको छ ।

यस्तै, मतदान केन्द्रहरुमा मतपत्रसहितका सम्पूर्ण निर्वाचन सामग्री पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसैगरी, मतदान अधिकृतसहितका अन्य कर्मचारी र सुरक्षाकर्मी पनि शुक्रबारको मतदान कार्यलाई सम्पन्न गराउन तयारी अवस्थामा रहेका छन् ।

निर्वाचनका लागि सर्लाही जिल्लाभर चार लाख ७४ हजार ४३९ जना मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्दै छन् । मतदानलाई लक्षित गर्दै सर्लाही जिल्लाभर सुरक्षा सतर्कता बढाइएको छ ।

मतदान केन्द्रहरुमा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले निर्वाचनका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको बताउनुभयो ।