• २ असार २०८१, आइतबार

रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशील

blog

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख २९ गते ।
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन अवधिका लागि रुपन्देहीमा चार हजार ६०४ सुरक्षाकर्मी परिचालन गरिएको हो । मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् ।

जिल्लाका १२८ मतदान स्थललाई संवेदनशील सूचीमा राखिएको छ भने ६२ वटा मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन् ।

जिल्लामा ७८ वटा मतदानस्थल भने सामान्य सूचीमा छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले सुरक्षा चुनौतीलाई मध्यनजरमा राखेर काम गरिएको बताउनुभयो ।

यहाँ म्यादी प्रहरी दुई हजार चार सय, नेपाल प्रहरी एक हजार चार सय र सशस्त्र प्रहरी छ सय, नेपाली सेना छ सय परिचालन गरिएको उहाँले गोरखापत्र अनलाइनलाई बताउनुभयो । निर्वाचनका बेला तीन वटा घेरामा सुरक्षाकर्मी परिचालन गरिनेछ । पहिलो घेरामा म्यादी, दोस्रोमा प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी रहनेछन् । मोबाइल टोलीको रुपमा सेनालाई पनि खटाइनेछ ।

रूपन्देहीमा सात सय मतदान केन्द्र र २०८ मतदान स्थल तोकिएका छन् । अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका हुन् । मतदाताको सङ्ख्या बढेपछि मतदान केन्द्र थप गरिएको हो । सबैभन्दा धेरै मतदाता हुने जिल्लामध्ये रूपन्देही चौथो जिल्ला रहेको निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा अहिले रूपन्देहीमा एक लाख नौ हजार ७५८ मतदाता बढेका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकामा अहिले बढेर ६ लाख ३२ हजार ३६० पुगेका छन् । तीमध्ये तीन लाख २३ हजार ७७८ पुरूष र तीन लाख आठ हजार ५७४ महिला छन् । अन्य मतदाताको सङ्ख्या आठ छ ।

निर्वाचन कार्यालयका अनुसार बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ मतदाता छन् । अघिल्लो निर्वाचनमा ७६ हजार ७२० मतदाता  थिए ।

नगरपालिकामा सबभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ८५ हजार ७४७ र सबभन्दा कम लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४३ हजार ८९० मतदाता  छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तिलोत्तमामा ७१ हजार ७४ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३६ हजार ११५ मतदाता थियो ।

जिल्लामा रहेका १० गाउँपालिकामध्ये सबैभन्दा धेरै गैडहवा गाउँपालिकामा ३० हजार ३५१ र सबैभन्दा कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा गैडहवा गाउँपालिकामा २४ हजार ९२० र मर्चवारी गाउँपालिकामा १८ हजार ८१७ मतदाता  थिए । रूपन्देहीमा ३८ दलले चुनावी प्रतिस्पर्धामा छन् ।