टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख ८ गते । गुल्मीको सत्यवती गाउँपालिकाले विस्फोटक पदार्थ, विषादी र करेन्ट लगाएर माछा मारे कडा कारबाही गर्ने भएको छ ।
आफ्नो कार्यक्षेत्रभित्र पर्ने कालीगण्डकी नदी, बडिगाड खोला तथा अन्य खोलाहरूमा पछिल्लो समयमा अवैध रूपमा विस्फोटक पदार्थ, विषादी र विद्युतीय उपकरण प्रयोग गरी माछा मार्ने गरेको गुनासो आएकाले गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।
अवैध रूपमा माछा मार्ने, फोहर फाल्ने तथा वातावरणलाई असर पार्नेजस्ता क्रियाकलाप गरिएको पाइएकोले गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको सत्यवती गाउँपालिका प्रमुख टीकाराम पाण्डेले जानकारी दिनुभयो ।
उहाँले प्राकृतिक स्रोत तथा वातावरण संरक्षण गर्ने उद्देश्यले बनेका प्रचलित कानुन, नियम तथा मापदण्ड विपरीत हुने कुनै पनि प्रकारका गतिविधि पूर्णरूपमा तत्काल बन्द गर्न सम्बन्धित सबैलाई सार्वजनिक सूचना मार्फत आग्रह गर्नुभएको छ ।
यदि कोही व्यक्ति वा समूह यस कार्यमा संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम जरिवाना तथा कडा कारबाही गरिने पाण्डेको भनाइ छ ।