जानु पाण्डे
कपिलवस्तु, वैशाख ९ गते । कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालिका–२, बसपार्क क्षेत्रबाट उनीलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार विशेष सूचनाका आधारमा सादा पोसाकमा खटिएका प्रहरीको टोलीले मङ्गलबार राति करिब ११ बजे शङ्कास्पद व्यक्तिहरूलाई चेकजाँच गरेको थियो ।
जाँचका क्रममा उनीहरूको शरीरका विभिन्न भाग तथा साथमा रहेको झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १४ केजी ८२७ ग्राम चरेस बरामद गरिएको थियो ।
पक्राउ पर्नेमा बागलुङ निसी खोला गाउँपालिका–६ का ३४ वर्षीय नकुल घर्ती मगर, ३७ वर्षीय दिलकुमारी घर्ती मगर, ३७ वर्षीया मनीषा घर्ती मगर तथा रुकुम पूर्व भूमे गाउँपालिका–१ की ४० वर्षीया दिलकुमारी घर्ती छन् ।
बरामद लागु औषध नेपालबाट भारततर्फ ओसारपसार गर्न लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।