माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), वैशाख १० गते । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका-१५, ढुङ्गेसाँघुको ठुलोमझुवामा निर्माण गरिएको भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उद्घाटन गर्नुभएको हो ।
भवन निर्माणमा प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले सुरक्षा निकायको क्षमता अभिवृद्धि तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सङ्घीयताको मर्मअनुसार प्रहरी समायोजन नहुँदा केही प्रशासनिक जटिलता रहेको बताउनुभयो ।
यो परियोजनामा कार्यालय प्याकेज र ब्यारेक प्याकेज गरी दुई भागमा बाँडेर कार्यान्वयन गरिएको थियो । कार्यालय प्याकेजको लागत ६ करोड ४६ लाख १२ हजार ३ सय २७ रुपियाँ र ब्यारेक प्याकेजको लागत ६ करोड ५५ लाख ४५ हजार ७ सय १६ रुपियाँ रहेको इन्जिनियर डिएसपी चिरञ्जीवीप्रताप महतोले जानकरी दिनुभयो ।
उहाँका अनुसार कार्यालय प्याकेजमा कार्यालय भवन, प्रमुखको निवास, २ वटा सिनियर अधिकृत निवास, ट्रेड सप र ब्यारेक प्याकेजमा २ वटा ब्यारेक, २ वटा मेस, क्वाटर गार्ड, तालिम लिने प्रहरीका लागि बाधा पार, बाटोको ट्रयाक खोलेर ग्राभेल बिछ्याइएको र मुख्य प्रवेशद्वार निर्माण गरिएको हो ।
आरसिसी फ्रेम स्ट्रक्चर अवधारणामा निर्माण गरिएको यी भवनहरूले प्रहरी तालिमलाई थप आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउने तालिम केन्द्रका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो । नयाँ संरचनासँगै तालिममा सहभागी जनशक्तिलाई आवास, खानपान, तालिम सञ्चालन तथा अन्य आवश्यक सुविधा सहज रूपमा उपलब्ध हुने उहाँको भनाइ छ ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख दीपेन्द्र जिसीले सीमित, स्रोत र साधनको उच्चतम प्रयोग गर्दै नेपाल प्रहरी जनताको सेवामा खटिरहेको बताउनुभयो । कार्यक्रममा भवन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पोखरा महानगरपालिका पूर्वमेयर मानबहादुर जिसीसहित ६ जनालाई सम्मान गरिएको थियो ।