निशा राई
धरान, वैशाख १० गते । धरान उपमहानगरपालिकामा दोस्रो खुला तथा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
वैशाख १८ देखि २० गतेसम्म आयोजना हुने प्रतियोगितामा देशभरका राष्ट्रिय तथा स्थानीय स्तरका खेलाडीको उसहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
विभिन्न विधा तथा उमेर समूह समेटिएको प्रतियोगितामा करिब चार सय ५० भन्दा बढी खेलाडी सहभागी हुने आयोजक क्लबका अध्यक्ष अध्यक्ष टङ्कबहादुर लिम्बूले बताउनुभयो ।
प्रतियोगितामा मेन्स सिङ्गल, ओमेन्स सिङ्गल, मेन्स डबल, ओमेन्स डबल, मिक्स डबल तथा भेट्रान विधामा प्रतिस्पर्धा गराइने उहाँले बताउनुभयो । साथै स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले वैशाख १४ र १५ गते विशेष प्रतियोगितासमेत आयोजना गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताले धरानमा ब्याडमिन्टन खेलको विकास, खेलाडीबिच प्रतिस्पर्धात्मक भावना अभिवृद्धि तथा नयाँ प्रतिभा पहिचान गर्न टेवा पुग्ने विश्वास रहेको क्लबको सचिव रबिन साउदेनले बताउनुभयो । साथै खेल पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा मेन्स सिङ्गलतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश: ५१ हजार, २० हजार पाँच सय र १२ हजार, ओमेन्स सिङ्गलतर्फ प्रथम, दोस्रो र तेस्रोलाई क्रमश: ४१ हजार, २५ हजार ५ सय र १५ हजार, मेन्स डबलतर्फ प्रथम, दोस्रो र तेस्रोलाई क्रमश: १ लाख २१ हजार, ६१ हजार ५ सय र ३० हजार र ओमेनस डबलतर्फ प्रथम, दोस्रो र तेस्रोलाई क्रमश: ६६ हजार, ३३ हजार र १८ हजार, मिक्स डबलतर्फ प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ६६ हजार, ३३ हजार ५ सय र १८ हजार रुपियाँ रहेको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब २३ लाख रुपियाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।