काठमाडौँ, वैशाख १० गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेटघाट गर्नुभएको छ।
सिंहदरबारस्थित कानुन मन्त्रालयमा आज भएको भेटमा राजदूत तोरुले नवनियुक्त मन्त्री गौतमलाई कार्यकालको सफलताको शुभकामना दिँदै बधाई ज्ञापन गर्नुभयो ।
भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूतबिच नेपाल र जापानबिचको द्विपक्षीय सम्बन्ध, कानुन सुधारका क्षेत्रमा भइरहेका प्रयास र आगामी सहकार्यका विषयमा विस्तृत छलफल भएको छ ।
दुवै पक्षले कानुन सुधारका क्षेत्रमा विगतदेखि हुँदै आएको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशेषगरी बदलिँदो विश्व परिवेशमा सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगलाई नियमन गर्न उपयुक्त कानुनी संरचना आवश्यक रहेको विषयमा भेटमा गम्भिर छलफल भएको छ।
मन्त्री गौतमले प्रविधिमैत्री कानुन निर्माणमा सहकार्यका थप क्षेत्रहरू पहिचान गर्न नेपाल इच्छुक रहेको बताउनुभयो ।
सो अवसरमा मन्त्री गौतमले जापान सरकारलाई आवश्यक पर्ने कुनै पनि विषय वा कानुनी जटिलता भएमा छलफलका लागि नेपाल सधैँ खुला रहेको सन्देशसमेत दिनुभयो ।
राजदूत तोरुले नेपालको कानुनी क्षेत्रको सबलीकरण र प्रविधिमैत्री कानुन निर्माणमा जापान सरकारले आवश्यक सहयोग र समन्वय गर्ने आश्वासन दिनुभएको छ ।