• २ असार २०८१, आइतबार

मतदान कार्यलाई सफल पार्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख २९ गते। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय निर्वाचनमा मतदान कार्यलाई सफल पार्न सहयोगको लागि अनुरोध गर्नुभएको छ। बिहीबार पत्रकार सम्मेलनमार्फत् उहाँले स्वच्छ, स्वतन्त्र र विश्सनीय र मितव्यायी वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरी सहयोगका लागि सम्बद्ध सबैमा आग्रह गर्नुभयो। 

“प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो”, उहाँले भन्नुभयो, “कानुन बमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अवसर र अधिकार निर्वाचन आयोगले प्रदान गरेको छ।” उहाँले विचार, निष्ठा र सिद्धान्तबाट निर्देशित भएर मतदान गर्न तर, कुनै पनि पद, पैसा पहुँच, प्रलोभन वा आश्वासनमा नपर्न पनि उल्लेख गर्नुभयो।

“आफ्नो विवेकको सही तरिकाले सही ठाउँमा प्रयोग गर्न सबै मतदातामा आह्वान गर्दछु। सबै तयारी पूरा भइसकेका छन्, शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ”, उहाँले बताउनुभयो।

मतदान कार्य सम्पन्न हुनासाथ सुरक्षित तवरबाट मतपेटिकाको आवश्यक ढुवानीको प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो। सबै मतपेटिका संकलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ हुनेछ।

यसैगरी, कुनै पनि मतदाता मतदानको अधिकारबाट बञ्चित नहोस् भनेर मतदाता नामावली रहेकाले परिचय-पत्र, नागरिकताको प्रमाण-पत्र, राष्ट्रिय परिचय-पत्र, राहदानी, जग्गा धनी प्रमाण पूर्जा लगायतका कुनै एक प्रमाणका आधारमा मतदान गर्ने आवश्यक प्रबन्ध मिलाइएको उहाँ बताउनुहुन्छ।

 “कुनै प्रश्न उठ्न नसक्ने गरी वातावरण तयार गर्न राजनीतिक दल, उम्मेदवार तथा सम्बद्ध सरोकारवालाको सहयोग हुने विश्वास व्यक्त गर्दछु”, उहाँले भन्नुभयो, “आफूलाई मन परेको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाइ सही तरिकाले निर्धकक मतदान गर्न हुन हार्दिक अनुरोध गर्दछु।”