• २ असार २०८१, आइतबार

शान्तिपूर्ण वातावरणमा मतदान हुन्छ : मन्त्री कार्की

blog

फाइल तस्बिर

जयकृष्ण यादव 

इनरुवा, वैशाख २९ गते। नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तह निर्वाचनलाई उत्सवको रुपमा लिन आग्रह गर्नुभएको छ। 

मन्त्री कार्कीले विश्वसनीय, स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा मतदान हुने भएकाले निर्धक्का साथ आफूलाई मन परेको उम्मेदवारलाई मतदान गर्न अपील गर्नुभएको छ। 

सुनसरीको बराहक्षेत्र नगरपालिका १० नम्बर वडामा मतदान गर्न आइपुग्नुभएका मन्त्री कार्कीले गोरखापत्रकर्मीसँग बिहीबार कुराकानी गर्नुहुँदै देशबासीलाई निर्वाचनलाई उत्सवको रुपमा लिई सबैको सहभागितामा आफूलाई मनपरेको उम्मेदवार वा पार्टीलाई मत दिई नयाँ यात्रा विकास र समृद्धिको यात्रामा योगदान गर्न आग्रह गर्नुभयो। 

विकास र समृद्धिसहित संघीयताको अनुभूति गराउने यात्राका रुपमा स्थानीय तहको निर्वाचनलाई लिन उहाँले आग्रह पनि गर्नुभयो।  

निर्वाचनको सबै तयारी पूरा

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका सहित १२ वटै स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको छ। मतदान केन्द्रमा घेराबेरा, सुरक्षा र मतदान सामग्रीहरु तथा केन्द्रमा आवश्यक सामग्रीसहित तह निर्वाचनको सबै तयारी पूरा भएको हो। 

मतदान अधिकृत र सुरक्षा टोलीले १२ वटै पालिकाका सबै मतदान केन्द्रमा मतदान स्थलमा दलहरुसँग र उम्मेदवारका प्रतिनिधिसँग छलफल गरेको छ। सबै मतदान अधिकृतले निर्वाचन सुरक्षित र भयरहित बनाउन अत्यावश्यक सूचना जारी गरी ३ सय मिटर वरिपरिको क्षेत्रलाई मतदानस्थल घोषणा गर्दै मदिरा निषेध गरिएको छ। हातहतियार प्रदर्शन निषेधित क्षेत्रको सूचना जारी गरिएको मुख्य निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदीले जानकारी दिनुभयो। 

यहाँका सबै ५८१ मतदान स्थल तथा केन्द्र निर्माण गरिएको छ। महिला र पुरुषका लागि बेग्लाबग्लै लामको व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग, गर्भवती र सुत्केरी, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले भने मतदान गर्न लाममा बस्नु नपर्ने गरी व्यवस्था मिलाएको सुवेदीले बताउनुभयो। 

यसैबीच, निर्वाचनका भारतीय सिमा नाका बन्द गरिएको छ। सुनसरीमा स्थानीय तह निर्वाचनका लागि तोकिएका उच्च संवेदनशील मतदान केन्द्रहरुमा उच्च सुरक्षा व्यवस्था पारिएको छ। 

त्यसैगरी, नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सुनसरीको दुहवी नगरपालिका २ नम्बर वडामा मतदान गर्नुहुँदैछ। गच्छदारले स्थानीय नवीन शिशु आधारभूत मतदान केन्द्रमा मतदान गर्नुहुन्छ। 

यस्तै, कांग्रेसका केन्द्रीय तथा प्रदेश सांसद राजीव कोइरालाले सुनसरीको इनरुवा नगरपालिका १ नम्बर वडाका चान्दनी अधारभूत केन्द्रमा मतदान गर्नुहुन्छ। त्यसैगरी, संघीय साँसद एवम् पूर्व राज्यमन्त्री सीताराम मेहताले पनि सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ को राजाजी मावि केन्द्रमा मतदान गर्नुहुने छ।