• १५ चैत २०८०, बिहिबार

सप्तरीमा निर्वाचनको तयारी अन्तिम चरणमा, मतगणनास्थलमा तारजाली

blog

माला कर्ण
कल्याणपुर, वैशाख २९ गते ।
स्थानीय तह निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । मतदानस्थलको निर्माण तथा मतपत्र ढुवानी, मतदान स्थलमा सुरक्षा प्रबन्धलगायतका तयारी अन्तिम चरणमा पुगेकोे कार्यालयले जनाएको छ ।

जिल्लामा ९ नगरपालिका र ९ गाउँपालिकाका लागि वैशाख ३० गते शुक्रबार निर्वाचन हुँदैछ । यहाँ ८५६ पदका लागि विभिन्न राजनीतिक दल स्वतन्त्र गरी पाँच हजार ५२८ जना प्रतिस्पर्धामा छन् ।

स्थानीय चुनावमा सप्तरीमा चार लाख १२ हजार ४४४ मतदाता छ । जसमध्ये दुई लाख १३ हजार ८९२ पुरुष, एक लाख ९८ हजार ५३२ महिला र अन्य २१ जना छन् । मुलुकभर ३५ हजार २२१ पदका लागि एक लाख ४५ हजार ११ जनाको उम्मेदवारी परेको छ ।

मतदानस्थल परिवर्तन
सप्तरी जिल्लामा चार वटा मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी मधेपुराबाट मतदानस्थल परिवर्तन गरिएको छ । सो मतदान स्थललाई एक सय मिटरको दूरीमा रहेको शारदा माध्यमिक विद्यालय जमुनी मधेपुरामा सारिएको जिल्ला निर्वाचन अधिकारी रमेशप्रसाद जोशीले जानकारी दिनुभयो ।

पहिले तोकिएको मतदानस्थलमा स्थान अभावका कारण मतदान गर्न ज्यादै असहज हुने भएकाले निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलिय वैठकले नयाँ स्थल कायम गरेको निर्वाचन अधिकृत यादवप्रसाद न्यौपाने बताउनुभयो ।

स्थानीय तहको निर्वाचनका लागि सप्तरीमा २९७ मतदानस्थल निर्धारण गरिएको छ । जसमा २०८ वटा अतिसंवेदनशील, ८५ वटा संवेदनशील र चार वटा मतदानस्थल सामान्य रहेको छ ।

विशेष सुरक्षा योजना
स्थानिय तह निर्वाचनलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न स्थानिय प्रशासनले निर्वाचन सुरक्षा केन्द्रित विशेष सुरक्षा योजना लागू गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार एक सूचना जारी गर्दै निर्वाचनलाई भयरहित वातवरणमा सम्पन्न गर्न निर्वाचन केन्द्रित विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ ।

सबै स्थानमा निर्वाचन कार्यालयबाट खटाइएका कर्मचारी र नेपाल प्रहरी निर्वाचन सम्बन्धी सामग्रीका साथ परिचालन भइ आवश्यक सुरक्षा र अन्य व्यवस्था मिलाइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मतदान स्थलमा कुनै पनि अमर्यादित र अशान्ति मच्चयाउने प्रयास भए त्यस्तो कार्यमा संलग्नलाई आवश्यकता अनुसार बल प्रयोग गरी नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही गरिने उहाँको भनाइ छ ।

मतगणनास्थलको तयारी पूरा
स्थानिय तह निर्वाचनको मतगणनाका लागि सप्तरीको खडक नगरपालिकाको मतगन्ना स्थलसहित जिल्ला भरीको मतगणनास्थलको सम्पूर्ण तयारी पूरा भएको छ । भयरहित र सुरक्षित वातावरणमा मतगणना सम्पन्न गर्न स्थानीय प्रशासनले निर्वाचन सुरक्षा केन्द्रित विशेष सुरक्षाअन्तर्गत सुरक्षा दिने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मतगणनास्थलमा तारजाली घेराबेरा तथा सीसी क्यामेरासहितको सम्पूर्ण व्यवस्था मिलाइएको खडक नगरपालिकाका निर्वाचन अधिकृत मोह्म्मद मुन्नाले जानकारी दिनुभयो ।