काठमाडौँ, साउन ४ गते। निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार स्वीकृत कार्यक्रम अनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ र सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने छ।
यसैगरी, उम्मेदवारको विरोधमा उजुरी दिने मिति २०८२ असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ। सोही दिन दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते साँझ ५ बजेदेखि ७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय भएको छ ।
असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता तथा सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ।
निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०८२ कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने छ ।
उहाँका अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको छ।
रुपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहोराको चैत १९ गते निधन भएपछि रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
पोस्ट कोभिडको साइट इफेक्टले बोलीमा समस्या भएर लामो समयदेखि थेरापी गराउँदै आउनुभएका बोहोराको थेरापीका क्रममा अक्सिजनको मात्रा एक्कासी घटेपछि अस्पताल पु¥याउँदा ०८१ चैत १९ गते मृत घोषणा गरेको थियो ।
उहाँ २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट विजयी हुनुभएको थियो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार प्रतिनिधि सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै कुनै प्रतिनिधि सभा सदस्यको स्थान रिक्त भएमा त्यो स्थानमा जुन प्रणालीमा पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।