• २२ पुस २०८१, सोमबार

उदयपुरको बेलका ९ मा माओवादीका घिमिरे विजयी

blog

उदयपुरको बेलका नपा ९ मा वडा अध्यक्ष पदमा निर्वाचित नेकपा माओवादी केन्द्रका उम्मेदवार भरत घिमिरे । तस्बिर: गोरखापत्र

भक्तिविलास पोखरेल

गाईघाट, मङ्सिर १८ गते । उदयपुरको बेलका नगरपालिका वडा नं ९ को वडा अध्यक्ष पदका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएको छ । 

उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार भरत घिमिरेले पाँच सय ५९ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका मोहन खड्काले पाँच सय २५ मत प्राप्त गर्नुभएको छ । 

विभिन्न राजनितिक दलका सात जना उम्मेदवार चुनावी मैदानमा होमिनु भएकोमा नेपाली काँग्रेसका नवीन बस्नेतले ४०४,जसपा का राजकुमार राईले २०७, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विकले १२३, ३१२ , राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद फुयाँलले २७ र मङ्गोल नेशनल अर्गनाइजेसका सुरे तामाङले पाँच मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत खरेलले बताउनुभयो ।

बेलका ९ को मत गणना गर्दा बदर मत धेरै भयो भनेर दलहरूबिच विवाद भएपछि स्थगित भएको मत पुन दोहोर्‍याएर गणना गर्ने भनी निर्वाचन आयोगबाट आदेश आएपछि सोमवार साँझबाट पुन मत गणना गरिएको र आज बिहान सार्वजनिक गरिएको परिणाम अनुसार ३५ मत मात्र बदर भएको छ । जबकि यस अघि पाँच सय मत गणना गर्दा नै २२० मत बदर भएको भनी सार्वजनिक गरिएको थियो । यो परिणाम अनुसार यस अघि ती दुवै सिटमा नेपाली काँग्रेसले जितेकोमा यो उपनिर्वाचनमा भने काँग्रेसले दुवै ठाउँ गुमाएको छ ।