सचिन पाख्रेल
इटहरी, असार २१ गते । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीको आयोजनामा यहाँ ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु भएको छ । पूर्वी पृतनापति उपरथी गौरवकुमार केसीले एक समारोहकाबिच प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
सो अवसरमा पृतनापति उपरथी केसीले खेलकुद शारीरिक तन्दुरुस्ती, समर्पण र अनुशासनको प्रतीक भएको बताउँदै यसले सैनिक क्षमताको विकास मात्र नभई राष्ट्रिय गौरव कायम राख्न पनि भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपाली सेनाका खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उज्ज्वल बनाउँदै आएकोसमेत उल्लेख गर्नुभएको थियो । उपरथी केसीले सैनिक अनुशासन र खेलकुदको संयोजनमार्फत सेना भित्रको एकता, अनुशासन र स्वास्थ्य सुदृढीकरणमा केन्द्रित सन्देश दिएको पनि बताउनुभयो ।
नेपाली सेनाभित्र आयोजना गरिने यस्ता प्रतियोगिताको सफल सञ्चालनले खेलाडीहरूबिच प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न सहयोग गर्नुका साथै आपसी सद्भाव र भाइचार अभिवृद्धि हुने पनि उहाँको भनाइ छ ।
आगामी असार ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत सामूहिक विधातर्फ फुटबल, भलिबल र बास्केटबल तथा एकल विधातर्फ एथलेटिक्स, बक्सिङ, पौडी, जुडो र तेक्वान्दो खेलमा प्रतिस्पर्धा हुनेछ ।
पूर्वी पृतनाअन्तर्गत रहेका नम्बर २ बाहिनी अड्डा हिले, नम्बर १८ बाहिनी अड्डा गाइघाट, र नम्बर २१ बाहिनी अड्डा चुलाचुली अन्तर्गतका गण तथा गुल्महरूका खेलाडीहरुले प्रतियोगितामा भाग लिएको बताइएको छ । प्रतियोगिताअन्तर्गत उत्कृष्ट भएका खेलाडीहरुले आगामी भदौमा काठमाडौँमा आयोजना गरिने प्रधान सेनापति ट्रफी २०८२ मा सहभागिता हुने छन् ।
नेपाली सेनाले हरेक वर्ष यस्ता आन्तरिक प्रतियोगिता आयोजना गर्दै आएको छ । यस बाहेक सेनाको खेलकुद विभागमा आवद्ध खेलाडीहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएका छन् ।