• २ असार २०८१, आइतबार

तनहुँमा ३४ महिला मतदान अधिकृत

blog

अमरराज नहर्की
तनहुँ, वैशाख २९ गते ।
स्थानीय तह निर्वाचनका लागि तनहुँमा ३४ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । जिल्लास्थित २९७ मध्ये उक्त ३४ जना महिला अधिकृतलाई जिम्मेवारी दिइएको जिल्ला निर्वाचन कार्यालय तनहुँँकी सूचना अधिकारी दुर्गामाया आलेले जानकारी दिनुभयो ।

विगतमा सम्पन्न निर्वाचनमा माहिलाले कुशलतापूर्वक कार्य सम्पादन गर्न सफल भएकाले महिलाले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने उद्देश्यका साथ उहाँहरुलाई मतदान अधिकृत तोकिएको आलेले जानकारी दिनुभयो ।

निर्वाचनको कामअन्तर्गत अमतदानस्थलको तीन सय मिटर वरिपरिको क्षेत्रलाई चार किल्ला प्रमाणित गर्ने, सर्वदलीय बैठक राख्ने, मतदाता परिचयपत्र वितरण गर्ने, निर्वाचन शिक्षा दिनेलगायतका कामहरु भइरहेको मतदान अधिकृतहरुले बताएका छन् ।

यसअघि दुई पटक कार्य गरिसकेको अनुभव भएकोले काम गर्न सहज भएको व्यास नगरपालिका–३, ज्ञानकुञ्ज दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालय ‘ख’ केन्द्रकी मतदान अधिकृत गसीतादेवी लम्सालले बताउनुभयो ।

म्याग्दे गाउँपालिका–४ थर्पुस्थित मिन माध्यमिक विद्यालयको माध्यामिक तहकी शिक्षिका लम्सालले २०७४ सालको स्थानीय तह निर्वाचनमा स्याङ्जाको भिरकोटकोट नगरपालिकामा र सङ्घ तथा प्रदेशको निर्वाचनमा व्यास नगरपालिका–१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयमा काम गरेको अनुभव रहेको उहाँले जानकारी दिनभयो ।

व्यास नगरपालिका–२ दमौलीबजारस्थित सत्यवती माध्यमिक विद्यालयको ‘ख’ केन्द्रकी मतदान अधिकृत अम्बिका घिमिरेले जिम्मेवारी सम्हाल्न कठिन नभएको बताउनुभयो । जिम्मेवारी पाउँदा पुरुषसरह महिलाले हरेक काम गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्नको लागि आगामी निर्वाचनमा महिलाको सङ्ख्या बढाउन ध्यान दिनुपर्ने बताउनुभयो । जिल्लामा पुरुष मतदान अधिकृतको सङ्ख्या २६३ छ ।