• ३ असार २०८१, सोमबार

निर्वाचनप्रति उत्साही युवा

blog

भक्तपुरको लोकन्थलीस्थित निस्ट स्कुलमा तयार पारिएको मतदान स्थल । तस्बिर :गोरखापत्र

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ३० गते  । स्थानीय तह निर्वाचनका लागि उपत्यकाबाट लाखौँ मतदाता आफ्नो थलो फर्किएका छन् । भक्तपुरमा अस्थायी रूपमा बसोबास गर्ने मतदाता मतदान गर्न गाउँ फर्किएको भए पनि निर्वाचन गराउन टोली मतदान स्थलमा पुगेपछि निर्वाचनको माहोल बढेको छ । 

चाँगुनारायण नगरपालिका श्रीकृष्ण मावि केन्द्रमा मतदान गर्ने राजबाबु खत्रीले विभिन्न पेसा व्यवसाय गरेर भक्तपुर बस्ने मतदाता आफ्नै मतदान केन्द्रमा गएपछि चहलपहल कम भएको अनुभव गरेको तर बुधबारबाट मतदान केन्द्रमा कर्मचारी आएपछि रौनक थपिएको सुनाउनुभयो । 

मौन अवधिका कारण निर्वाचन प्रचार गर्नेहरूको चहलपहल घटे पनि मतदानस्थल तयार भएपछि निर्वाचनको उत्साह तरङ्गित भएको छ । दलका तथा स्वतन्त्र उम्मेदवार निर्वाचन गराउन मतदान केन्द्रमा खटिएर आएका कर्मचारीलाई सहयोग गरिरहेका छन् । 

“नयाँ मतदाता निकै उत्साहित देखिएका छन् । जीवनमा पहिलो पटक मतदान गर्न लागेका मतदातामा मत कसरी हाल्ने, कस्ता प्रतिनिधि छान्नेबारे उत्साह र चासो देखिएको छ,” सूर्यविनायक नगरपालिकाका सहायक मतदान अधिकृत योगेन्द्रप्रसाद पराजुलीले भन्नुभयो । 

पुराना मतदाताभन्दा धेरै नयाँ मतदाता उत्साहित बनेर निर्वाचन सफल बनाउन प्रयास गरिरहेका छन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान स्थलमा पुगेर नयाँ परिचयपत्र लिनुभएकी सुदीक्षा सापकोटाले आफ्नो नगरका प्रमुख र उपप्रमुखको उम्मेदवारका बारे केही दिनयता इन्टरनेटमा धेरै कुरा खोजी गरेको बताउनुभयो । 

आफ्ना साथीको समूहमा समेत निर्वाचनका बारेमा छलफल सुरु गरेको र उम्मेदवारले विगतमा गरेका कामको बारेमा समेत आफूले छलफल गरेको सुनाउँदै उहाँले भन्नुभयो, “घर परिवारसँग सल्लाह गरेर पनि मताधिकार प्रयोग गर्नेछु । आफ्नो निर्णयसँग घरपरिवारको कुरा मिल्छ कि मिल्दैन, त्यो पनि हेर्नेछु ।” चाँगुनारायण नगरपालिकामा अस्थायी रूपमा बस्नुहुने नयाँ मतदाता दीपिका न्यौपानेले दल तथा स्वतन्त्र उम्मेदवारको घोषणापत्र र प्रतिबद्धतापत्र अध्ययन गरिरहेको बताउनुभयो । 

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका मतदाता न्यौपानेले धेरै उम्मेदवारले घोषणापत्र र प्रतिबद्धतापत्र राम्रोसँग नबनाउने र अरू ठाउँमा बनेकाको हुबहु उतार गर्ने गरेको आफूले पाएको बताउनुभयो । “केन्द्रमा बनेकै घोषणापत्रलाई थपथाप पारेर स्थानीय मतदाताका बीचमा लैजाने गरिने रहेछ,” उहाँले भन्नुभयो । उहाँले आफूले कुन उम्मेदवारलाई मत दिने भनेर निर्णय गरिसकेको र एक पटक अभिभावकसँग यसबारे परामर्श लिने बताउनुभयो । 

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले सबै मतदान केन्द्रमा नयाँ मतदाताले उत्साहपूर्ण रूपमा परिचयपत्र लिन आएको र मतदानबारे निकै कौतुहलका साथ जिज्ञासा राख्ने गरेको बताउनुभयो । भक्तपुरमा अघिल्लो निर्वाचन भएपछि नयाँ मतदाता ११ हजार ४८५ जना थपिएका छन् । भक्तपुरमा ७७ मतदान स्थल र २१९ वटा मतदान केन्द्र तोकिएको छ