• ३१ असार २०८२, मङ्गलबार

अमेरिकामा भानुभक्तको योगदानको चर्चा

blog

आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीमा नर्थ क्यारोलिनाको रालेमा आयोजित कार्यक्रमका सहभागी ।

कृष्णराज खनाल 

राले, अमेरिका, असार ३१ गते । नेपाली भाषाका नक्षत्र आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती नर्थ क्यारोलिनाको रालेमा सम्पन्न भएको छ । आइतबार यहाँ आयोजित भानु जयन्ती समारोहमा वक्ताहरूले नेपाली भाषाको उन्नयनमा भानुभक्त आचार्यको योगदानको चर्चा गर्नुभएको थियो । 

उहाँहरूले भानुभक्तले नेपाललाई भाषाका माध्यमबाट जोड्न र नेपाल र नेपालीलाई एकसूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको चर्चा गर्नुभएको थियो । उहाँहरुले भानुभक्त समाज सुधारक र यथार्थवादी कवि भएको पनि बताउनुभयो ।

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) को संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा संस्थाका सल्लाहकारहरू ईश्वर देवकोटा, डा. हरिहर भट्टराई र कवि मधु माधुर्यले भानुको बहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको थियो । माधुर्यले सिक्किम आसामतिर भानुभक्तको जन्मजयन्ती त बाजा बजाएर धुमधामसँग मनाइने गरेको जानकारी दिनुभयो ।

उक्त अवसरमा साहित्यकारहरू नम्रता गुरागाईँ, डा. शरद पराशर मरहठ्ठा, मधु माधुर्य, कमला देवकोटा आदिले आआफ्नो कविता वाचन गर्नुभएको थियो ।

साहित्य समाजका अध्यक्ष शिखर दुलालको अध्यक्षतामा सम्पन्न उक्त अवसरमा एनसिएनसीका वरिष्ठ उपाध्यक्ष ददिन पाण्डे, नेपाली पाठशालाका तर्फबाट शिक्षिका रश्मि अधिकारी र अध्यक्ष दुलालले पनि भानुको व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

भानुभक्तको तस्बिरमा माल्यार्पण र दीप प्रज्ज्वलन गरी सुरु भएको सो कार्यक्रमको दोस्रो सत्रमा यहाँ सञ्चालन भइरहेको नेपाली पाठशालाका स–साना भाइबहिनीहरूले आ–आफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो । यसरी सिर्जना पाठ गर्नेहरूमा सुहाना अर्याल, रमोना बस्नेत, विधि अधिकारी, किञ्जा पाण्डे, आयाम देव, ऐश्वर्या अधिकारी, दीप अधिकारी, गुञ्जन न्यौपाने, स्कन्ध आचार्य, केविन खनाल, क्रिष्टिना अधिकारी, कृतेश अधिकारी र शिया खनाल हुनुहुन्थ्यो । 

साहित्यकार प्रभा पोखरेलले सञ्चालन गर्नुभएको सो कार्यक्रमको विशेष अतिथि बाल भानु सलिल ढकाल हुनुहुन्थ्यो । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष साहित्यकार नगेन्द्र न्यौपाने र नेसंविका पूर्व उपकुलपति शिवहरि मरहठ्ठालगायत साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो ।