अविनाश चौधरी
धनगढी, बैशाख २१ गते । धनगढी नगर भलमन्सा समितिले कृषकले झेलिरहेका समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास एवम् वन तथा वातावरण मन्त्री गीता चौधरीसँग माग गरेको छ ।
समितिले कैलाली, कञ्चनपुरका किसानको तर्फबाट मन्त्री चौधरीलाई मागपत्र बुझाउँदै कृषकको समस्या समाधान गर्न माग गरेको हो । समितिका अध्यक्ष रोहित चौधरीले मन्त्रीलाई मागपत्र बुझाउनुभयो ।
कृषिमा बिचौलिया हाबी रहेको उल्लेख गर्दै उहाँले वास्तविक किसानको पहिचान गर्न मन्त्रीलाई आग्रह गर्नुभयो । कृषि यान्त्रिक उपकरण पैसा र पहुँचमा वितरण हुने गरेका कारण वास्तविक किसानले त्यस्ता उपकरण पाउन अध्यक्ष चौधरीको भनाइ थियो ।
किसानले सहुलियत दरमा समयमै किसानलाई मल खाद, इन्धन उपलब्ध हुनुपर्ने, कृषि उपकरण सहुलियतमा उपलब्ध हुनु पर्ने माग गरेका छन् । यसैगरी, किसानले उत्पादन गरेको वस्तुको खरिद समर्थन हुनुपर्ने, उचित भण्डारणको व्यवस्था हुनु पर्ने, छाडा चौपायाको व्यवस्थापन हुनु पर्ने माग गरेका छन् ।
मागपत्र बुझ्दै मन्त्री चौधरीले कृषकको समस्यालाई सरकारले समाधान गर्ने बताउनुभयो । रासायनिक मलको प्रयोगले जग्गाको अवस्था एकदमै बिग्रिसकेको उल्लेख गर्दै उहाँले सरकारले माटो जाँचको कार्य अगाडि बढाएको बताउनुभयो । उहाँले बाँझो जग्गा उपयोग गर्ने विषयमा अध्ययन, अनुसन्धान गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।