अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २१ गते । समाजसेवी डा. मनोरदिन सैयदले ध्रुव देउराली आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर सेट प्रदान गर्नुभएको छ ।
उहाँले भिरकोट नगरपालिका–२ मा रहेको विद्यालयलाई अध्ययन तथा अध्यापनमा सहयोग पुग्ने उद्देश्यले कम्प्युटर सेट प्रदान गर्नुभएको हो । भिरकोट नगरपालिकामा अध्ययनरत विद्यार्थी र विद्यालयलाई विगतदेखि पोशाक र शैक्षिक सामग्री वितरण गर्नुभएका सैयदले सहयोग गर्नुभएको हो ।
डा. सैयदले विद्यालयका प्रधानाध्यापक पदमपाणी अर्याल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहमद हनिफ मियालाई कम्प्युटर हस्तान्तरण गर्नुभयो । आफूले विद्यालयलाई कम्प्युटर प्रदान गर्न पाउँदा खुसी भएको बताउँदै भाबी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक अर्यालले विद्यालयमा कम्प्युटर शिक्षा शुभारम्भ गर्न कम्प्युटर प्रयोग गरिने बताउँदै डा. सैयदको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । बलामडाँडामा अवस्थित उक्त विद्यालयमा ३५ जना विद्यार्थी अध्ययनरत छन् । भिरकोट नगरपालिका–१ का स्थायी बासिन्दा डा. सैयद मनमोहन मेमोरियल अस्पताल, काठमाडौँमा कार्यरत रहनुभएको छ ।