• ५ कात्तिक २०८२, बुधबार

मौरिस हर्जोग पदमार्गमा अपाङ्गतामैत्री पदयात्रा

blog

अपाङ्गता भएका पदयात्रीहरुलाई बेनीको कालिपुलबाट विदाई गरिँदै । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी,कात्तिक ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा आजदेखि अपाङ्गतामैत्री पदयात्रा सुरु भएको छ ।

पदयात्रामा विभिन्न ६ प्रकारका अपाङ्गता भएका ८ जना पर्यटकहरु सहभागी हुनुभएको छ । पदयात्रीहरुलाई बुधबार विहान अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्री, होटल व्यवसायी केबी भण्डारी लगायतले बेनीको कालिपुलबाट विदाई गर्नुभयो ।

अन्नपूर्ण पदयात्राले अपाङ्गता भएका व्यक्तिहरुले पनि शाहसीपूर्ण पदयात्रा गर्न सक्छन् भन्ने सन्देश विश्वभर प्रवाह गरी अन्नपूर्णको पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले विश्वास व्यक्त गर्नुभयो । 

नारच्याङको हुमखोला देखि सुरु हुने पदयात्रा मौरिस हर्जोग पदमार्ग हुँदै २२ किलोमिटरको यात्रा गर्दै चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल र चारहजार एकसय ९० मिटर उचाईमा रहेको आधार शिविरसम्म पुग्ने कार्यक्रम रहेको छ । 

पर्यटकहरूको सहजता र पहुँच सुनिश्चित गर्न अपाङ्गतामैत्री अन्नपूर्ण पदयात्रा सुरु गरिएको अन्नपूर्ण गाउँपालिका अपाङ्गता सञ्जालका सचिव विशाल विकले बताउनुभयो । उहाँका अनुसार पदयात्रामा दुइजना दृष्टीविहिन र अन्य शारीरिक अपाङ्गता भएका पर्यटकहरु सहभागी हुनुभएको छ । 

पदयात्राले अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र मौरिस हर्जोग पदमार्गमा समावेशी पर्यटन प्रवर्धन र अपाङ्गता मैत्री पदमार्ग निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण हुने विकले बताउनुभयो । 

आफु दृष्टिविहीन भए पनि आधार शिविर पुग्ने अठोट र शाहस लिएर पदयात्रामा निस्किएको भिमबहादुर गुरुङले बताउनुभयो । मौरिस हर्जोग पदमार्ग र आधार शिविरमा सवै खाले अपाङ्गता भएका ब्यक्तिको सहज पहुँच बनाउन र समावेशी पर्यटन प्रवर्धन गर्न अन्नपूर्ण पदयात्राले टेवा पुग्ने आशा गरिएको छ । 

नारच्याङको बेंसी गाउँदेखि दुईघण्टा सवारी साधनको यात्रापछि पुगिने हुमखोलाबाट मौरिस हर्जोग पदमार्ग सुरु  हुन्छ । हुमखोलाबाट दुईदिनमा  आधार शिविर पुग्न सकिन्छ । छोटो दूरी र रोमाञ्चक यात्रा भएकाले आन्तरिक पर्यटको रोजाईँमा यतिखेर आधार शिविर बनेको छ । 

पदमार्गमा  झरना, मनमोहक हिमश्रृङ्खला, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । अन्नपूर्ण गाउँपालिकाले होटल तथा रेष्टुरेण्ट,आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण र पदमार्ग मर्मत सम्भार गरेर पदयात्रीका लागि सहज बनाएको छ । 

पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताका कारण यो क्षेत्र आकर्षक पर्यटकीय गन्तब्यका रुपमा विकास भएको छ ।