• ३ असार २०८१, सोमबार

निर्भीक भई मतदान गर्न आग्रह

blog

गोरखापत्र समाचारदाता

ललितपुर, वैशाख ३० गते । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराई व्यक्तिको नागरिक तथा राजनीतिक अधिकारको पूर्ण सम्मान गर्न सरोकारवालासँग आग्रह गर्नुभएको छ ।आयोगले बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले कसैको दबाब र प्रभावमा नपरी निर्भीकताका साथ आफूले उपयुक्त ठानेका सक्षम जनप्रतिनिधि छनोट गर्न मतदातालाई आग्रह गर्नुभयो । 

दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, अशक्त र किरियापुत्रीलाई मतदान केन्द्रमा सहज पहुँचको व्यवस्था गर्न निर्वाचन आयोगलाई अनुरोध गरिएको छ । मानव अधिकार आयोगले निर्वाचनको सम्पूर्ण प्रक्रियामा शान्ति सुरक्षा कायम राख्न र निर्वाचनमा सबै पक्षको सहभागिताको सुनिश्चितता गर्न गराउन पनि आग्रह गरेको छ ।

आयोगका कायम मुकायम सचिव मुरारीप्रसाद खरेलले निर्वाचनका लागि सूचना प्रकाशित गरेर नै स्वास्थ्य चौकीहरू बन्द गराइएको र स्वास्थ्यकर्मीलाई निर्वाचनमा खटाइएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । 

उहाँले आयोगको अनुगमनमा रुपन्देही, सिन्धुलीलगायतका जिल्लामा सूचना प्रकाशित गरेर स्वास्थ्य चौकी बन्द गराइएको, हुम्ला जिल्ला अस्पतालको प्रयोगशाला (ल्याब)का कर्मचारीलाई निर्वाचनमा खटाइएको र वैशाख २५ गतेदेखि सो अस्पतालमा प्रयोगशाला सेवा बन्द रहेको पाइएको जानकारी दिनुभयो ।

यसैगरी हुम्लामा आठदेखि नौ घण्टासम्म हिँडेर मतदान स्थलमा पुग्नुपर्ने अवस्था रहेको, मतदान गर्न घरबाट जाँदा र फर्किंदा बाटोमै बास बस्नुपर्ने अवस्था रहेकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उहाँले निर्वाचनमा ज्येष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति तथा महिलाका लागि मतदान स्थलसम्म सहज पहुँचको अवस्था नरहेको पाइएको बताउनुभयो ।

निर्वाचन आचारसंहिता उलङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार तथा सार्वजनिक निकायलाई स्पष्टीकरण सोध्नुबाहेक अन्य कुनै कारबाही हुन नसकेको, मतदाता शिक्षा नहुँदा यस पटकको स्थानीय निर्वाचनमा विगतको तुलनामा धेरै मतपत्र बदर हुने सम्भावना रहेको आयोगको अनुगमनबाट देखिएको छ । निर्वाचनको दिन मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने बताए पनि मतदान स्थलमा त्रिपाललगायतको व्यवस्था नगरिएको पाइएको छ । 

आयोगका सचिव खरेलले आसन्न निर्वाचनमा महिला र दलितको उम्मेदवारी न्यून रहेको पाइएको बताउनुभयो । मतदातासम्बन्धी वर्गीकृत तथ्याङ्कको अभावमा महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका कति व्यक्तिले मतदान गर्दैछन् भने जानकारी प्राप्त हुन नसकेको, तस्बिरसहितको मतदाता नामावलीमा नाम छुट्न गएकोमा महिला बढी देखिएको, मतदाताहरूको नङमा मसी लगाउने जिम्मेवारी महिला कर्मचारीलाई मात्र दिइएको पाइएको उहाँले बताउनुभयो ।