• १६ चैत २०८०, शुक्रबार

दोस्रो स्थानीय तह निर्वाचनको मतदान सुरु

blog

भरतपुर– १४ शान्तिपुर स्थित नेपाल प्रहरी विद्यालय मतदान केन्द्रमा मतदान दिने तयारीमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल । तस्विरः बसन्त पराजुली

काठमाडौँ, वैशाख ३० गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा बिहान ७ बजेबाट सुरु भएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रबार बिहान नै मतदाताहरूका मोबाइलमा मतदानमा सरिक हुन सन्देश पठाएर उत्प्रेरित गरिसक्नु भएको छ ।

देशभर एकै चरणमा हुने स्थानीय निर्वाचनमा सहभागी हुन आह्वान गर्दै प्रमुख आयुक्त थपलियाले सन्देशमा भन्नु भएको छ, ‘‘आज वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्नु हुन म सम्पूर्ण मतदाताहरूलाई हार्दिक अपिल गर्दछु ।’’

करोड ७७ लाख ३३ हजार मतदाताले मताधिकार प्रयोग गर्दै

देशभरका कुल ७५३ स्थानीय तहमध्ये ७५२ स्थानीय तहमा आज बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुँदैछ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा भने जेठ ३ गते मतदान हुने जनाएको छ । दाङको तुलसीपुर नगरपालिकाको वडा नं. १७ मा समेत जेठ ३ गते नै मतदान हुनेछ ।

महाराजगञ्ज नगरपालिकाका उपप्रमुख पदका प्रत्यासी शुभावती कुर्मीको र दाङको वडा नं. १७ का वडा अध्यक्ष पदका प्रत्यासी लभरु चौधरीको निधन हुँदा दुवै स्थानमा जेठ ३ गतेका लागि मतदान सारिएको आयोगले जनाएको छ ।

करिब डेढ लाख उम्मेदवार चुनावी प्रतिस्पर्धामा  

कतिपय मतदान स्थलमा बिहानदेखि नै मतदाताको चहल पहल देखिएको छ । दिउँदो घाम लाग्ने र कतिपय ठाउँमा पानी पर्ने भएकाले पनि मतदाता बिहानबाटै लाममा लागेका हुन् ।

निर्वाचन आयोगका अनुसार, स्थानीय निर्वाचन २०७९ मा ३५ हजार २२१ पदका लागि कुल एक लाख ४५ हजार ११ जना उम्मेदवारले स्पर्धा गर्दैछन् । तीमध्येबाट कुल ३४ हजार ६६० जनप्रतिनिधि मतदानबाट चुनिनेछन् ।


बुटवलमा मतदान गर्न प्रतिक्षामा रहेका मतदाता । तस्बिरः कपिल ज्ञवाली 

निर्वाचनको क्रममा ३९० जना निर्विरोध निर्वाचित भएका छन् । १७० जना दलित महिला सदस्यका लागि उम्मेदवारी परेको छैन । मनाङको मार्फाभूमि वडा नं. १ मा महिला सदस्यका लागि उम्मेदवारी परेन । एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश छ । जसमध्ये ८७ लाख ४१ हजार ५३० महिला र ८९ लाख ८२ हजार १० पुरुष तथा १८३ जना अन्य लिङ्ग समूहका मतदाता छन् ।

एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश छ । आयोगले वैशाख २९ गते १८ वर्ष उमेर पूरा भएका करिब २३ हजार मतदाता थपिएका छन् । स्थानीय निर्वाचन २०७४ को अपेक्षा करिब ३६ लाख मतदाता थपिएका छन् । निर्वाचनका लागि १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।

राजनीतिक दल र उम्मेदवारले पालना गर्नुपर्ने नियम

निर्वाचन आचार संहिता, २०७८ ले मतदानको दिन मतदानकेन्द्रमा राजनीतिक दल उम्मेदवार, दलको भ्रातृ संगठन, मतदाता तथा अन्य सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ ।

यस अनुसार, राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन नहुने, कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने गरी एकै किसिमको सांकेतिक पोशाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन हुँदैन ।

कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गरी कसैलाई लैजान वा ल्याउन नहुने तथा मतदाता एवम् आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्ति मतदानकेन्द्रमा प्रवेश गर्न नहुने व्यवस्था गरिएको आयोगले जनाएको छ ।


ललितपुरको धोविघाट मतदान स्थलमा मतदान गर्न तयारी अवस्थामा मतदाताहरु । तस्बिरः गोरखापत्र


यसैगरी, मतदाताहरुले मतदानकेन्द्रमा मतदान गर्न जाँदा मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाईटर जस्ता प्रज्वलनशील पदार्थ, एसिड कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाउने, कुनै नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने, मतदातालाई मतदान गर्न वञ्चित गराउने अभिप्रायले झुठा अफवाह भ्रामक समाचार फैलाउने वा कुनै अवरोध गर्ने काम गर्न गराउन नहुने, कसैको दल वा उम्मेदवारको झण्डा वा चिन्ह अंकित कुनै कुरा लगाउन, बोक्न वा प्रदर्शन गर्न नहुने तथा कसैको पक्ष विपक्षमा सामाजिक संजाल मार्फत् कुनै कुरा प्रकाशन प्रसारण र संप्रेषण गर्न नहुने जस्ता व्यवस्थाहरु गरिएका छन ।

यसर्थ, स्थानीय तह सदस्य निर्वाचन हुने दिन वैशाख ३० गते शुक्रबार सबै मतदानस्थल तथा मतदानकेन्द्रहरुमा उपरोक्त अनुसारको व्यवस्था कडाईसाथ कार्यान्वयन गर्न गराउन सबै मतदान अधिकृत लगायत मतदान कार्यमा खटिने कर्मचारी, सुरक्षाकर्मी, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालाहरूलाई आयोगले हार्दिक अपिल पनि गरेको छ ।