• २ वैशाख २०८३, बुधबार

कार्यालयमा ९ बजेदेखि सेवा

कर्मचारी पुगे : पुगेनन् सेवाग्राही

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख २ गते । सरकारले सबै सरकारी कार्यालय बिहान ९ बजेदेखि नै खोल्ने निर्णय गरेसँगै अधिकांश कार्यालयमा बिहान ९ बजे नै छिटफुटबाहेक सेवाग्राही पुग्ने गरेका छैनन् ।

सेवाग्राहीको अत्यधिक चाप हुने मालपोत कार्यालय, नापी, यातायात, जिल्ला प्रशासन र स्थानीय तहमा थोरै सङ्ख्यामा मात्र सेवाग्राही पुगे पनि अधिकांश सेवाग्राही विगतकै समयमा आउने गरेको पाइएको छ । अधिकांश कर्मचारी बिहान ९ बजे नै कार्यालयमा प्रवेश गर्न थालेका छन् । केही कर्मचारी भने केही समय ढिलो गरी कार्यालयमा पुग्ने गरेका छन् । बिहान ९ देखि ९ः३० बजेसम्ममा कार्यालयमा कर्मचारी मात्र भेटिएको तर सेवाग्राही एकाध मात्र सेवा लिन कार्यालय पुग्ने गरेको पाइएको छ  ।

सरकारले गत २०८२ चैत २३ गतेदेखि सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि साँझ ५ बजेसम्म सबै सरकारी कार्यालय खोल्ने र शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले राष्ट्रिय परिचयपत्र बनाउनका लागि केही सेवाग्राही ९ देखि १० बजेको बिचमा सेवा लिन आउने गरेको बताउँदै अन्य सेवाका लागि छिटफुटबाहेक सेवाग्राही सेवा लिन नआएको बताउनुभयो ।

उहाँका अनुसार कतिपयलाई ९ बजे नै सेवा लिने बानी नपरेर पनि होला तर केही दिनभित्रमा सेवाग्राही आउने अपेक्षा गरिएको छ । सामान्यतया बिहान ९ बजेको समय सेवाग्राहीको पनि खाना खाने समय भएकाले सेवा लिन ९ बजे नै नआएको हुन सक्ने उहाँको भनाइ छ । भट्टराईले भन्नुभयो, “सेवाग्राही नआए पनि कर्मचारी भने समयमा नै कार्यालयमा पुगेकाले सेवाग्राहीलाई सेवा दिनका लागि, आवश्यक तयारी गर्न, कार्यालयको आन्तरिक बैठक सञ्चालनका लागि गृहकार्य गर्न र शून्य बाँकी फाइल सप्ताह अभियानलाई पूर्णता दिन समय भने पर्याप्त भएको छ ।”

काठमाडौँको शङ्खरापुुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले सेवाग्राहीलई ९ बजे नै कार्यालय खुल्छ र सेवा लिन जानु पर्छ भन्ने बानी नपरेकाले ९ बजे नै एकाध सेवाग्राहीबाहेक कार्यालयमा सेवा लिन नआएको बताउनुभयो । “कर्मचारी भने ९ बजे र सोभन्दा अगाडि नै  कार्यालयमा आएर आफ्नो तयारी थाल्ने गरेका छन् । हामी कर्मचारीमा पनि सेवाग्राहीलाई बिहान ९ बजेदेखि नै सेवा सुरु हुन्छ भनेर सचेतना अभिवृद्धि गर्दै जानुपर्ने आवश्यकता महसुस भएको छ,”  उहाँले भन्नुभयो ।

सचेतना अभियान चलाइने 

मालपोत कार्यालय भक्तपुरले पनि बिहान ९ बजे छिटफुट मात्र सेवाग्राही सेवा लिन आएको जनाएको छ । केही दिनभित्रमा बिहान ९ बजेदेखि सेवा सुरु भएको जानकारी सेवाग्राहीलाई दिने गरी सचेतना अभियान चलाउने तयारी गरेको मालपोत कार्यालयले जनाएको छ । उपभोक्ता हकहित संरक्षण मञ्चका सचिव जयप्रसाद पौडेलले गाउँघरका कतिपय सेवाग्राहीलाई अहिले पनि बिहान ९ बजे नै कार्यालय खुल्छ भन्ने जानकारी नभएर पनि सेवा लिन ९ बजे नै कार्यालयमा नपुगेको हुन सक्ने बताउनुभयो । “हामी सेवाग्राहीको पनि काम गर्ने स्वभाव पुरानै छ । छिटो कार्यालय पुग्दा छिटो र सहज सेवा लिन पाइन्छ भन्ने जानकारी नहुँदा पनि सेवाग्राही ढिलो गरी कार्यालयमा सेवा लिन जाने गरेका हुन्,” पौडेलले भन्नुभयो । 

दैनिक ५० भन्दा बढी कार्यालयको अनुगमन 

राष्ट्रिय सतर्कता केन्द्रले पनि छिटफुटबाहेक अधिकांश कर्मचारी बिहान ९ बजे नै कार्यालयमा पुगे पनि सेवाग्राही भने बिहान ९ बजे नै सेवा लिन न्यून मात्र आउने गरेको पाइएको जनाएको छ । केन्द्रका सूचना अधिकारी हिरामणि सुवेदीले सतर्कता केन्द्रले अहिले देशभरमा गरी दैनिक ५० वटा भन्दा बढी कार्यालयको अनुगमन गरिरहेको भन्दै अनुगमनका क्रममा पनि छिटफुट मात्र बिहान ९ बजे सेवाग्राही सेवा लिन आएको बताउनुभयो । 

केन्द्रले अनुगमनका क्रममा सबै कार्यालयलाई बिहान ९ बजेदेखि नै सेवा सञ्चालन भएको जानकारी आमसेवाग्राहीलाई दिन निर्देशन दिइएको छ । अधिकांश कार्यालयले सेवाग्राही सचेतना अभियान चलाउने तयारी गरेका उहाँको भनाइ छ । केन्द्रले बिहान ९ बजे नै सरकारी कार्यालयमा गएर अनुगमन गर्ने र बिहान ९ देखि साँझ ५ बजेसम्मको समय पालना भए वा नभएको विषयमा अनुगमन गर्ने गरी त्यसको प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई बुझाउने गरेको छ ।