• २३ वैशाख २०८३, बुधबार

बुढीगण्डकीमाथि बेलिब्रिज निर्माण हुँदै

blog

धार्चे गाउँपालिका–२ दोभान र वडा नम्बर १ हुल्चुक जोड्ने बुढीगण्डकी नदीमाथि निर्माणाधीन बेलिब्रिज। तस्बिर सौजन्य : रामसिंह गुरुङ

गुणबहादुर रोका
सुलीकोट, वैशाख २३ गते ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ दोभान र वडा नम्बर १ हुल्चुक जोड्ने गरी बुढीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ।

करिब ४२ मिटर लामो उक्त पुल दोभान खोला जलविद्युत् आयोजनाले निर्माण गरिरहेको हो। आयोजनाले आफ्नो परियोजनाको काम सहज बनाउनुका साथै स्थानीयवासीलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यले पुल निर्माण थालेको जनाएको छ।

धार्चे–१ हुल्चुकका वडाध्यक्ष रामसिंह गुरुङका अनुसार पुल निर्माणको काम गत फागुनदेखि तीव्र रूपमा सुरु भएको हो। “हाल फाउन्डेसनको काम सम्पन्न भएको छ। असार मसान्तभित्र पुल निर्माण सक्ने लक्ष्य राखिएको छ,” उहाँले भन्नुभयो।

बेलिब्रिज निर्माण सम्पन्न भएपछि हुल्चुकमा पहिलो पटक सवारीसाधन सहज रूपमा पुग्ने अपेक्षा गरिएको छ। धार्चे गाउँपालिकाका अन्य सबै वडामा सडक पुगे पनि पुल अभावका कारण हुल्चुकमा अहिलेसम्म मोटर यातायात सञ्चालन हुन सकेको छैन। पुल बनेपछि गाउँपालिकाका सबै वडामा यातायात पहुँच विस्तार हुने विश्वास गरिएको छ।

यातायात सुविधा नहुँदा हुल्चुकवासीले दैनिक उपभोग्य सामग्री महँगो मूल्यमा खरिद गर्न बाध्य हुँदै आएका छन्। दोभानसम्म बजार मूल्यमा सामान पुगे पनि त्यहाँबाट हुल्चुकसम्म खच्चडमार्फत ढुवानी गर्न प्रतिकेजी पाँच रुपैयाँसम्म अतिरिक्त खर्च तिर्नुपर्ने स्थानीयको भनाइ छ। पुल सञ्चालनमा आएपछि भने खाद्यान्न तथा अन्य सामग्री बजार मूल्यमै सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

वडाध्यक्ष गुरुङले पुल हुल्चुकवासीको लामो समयदेखिको आवश्यकता भएको बताउनुभयो। उहाँका अनुसार पुल निर्माणले जलविद्युत् आयोजनाको कामलाई समेत गति दिनेछ भने स्थानीय जनजीवनमा प्रत्यक्ष राहत पुग्नेछ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत करिब पाँच करोड रुपियाँ लागतमा निर्माण भइरहेको उक्त बेलिब्रिज सम्पन्न भएपछि हुल्चुकको यातायात, व्यापार र जनजीवनमा सकारात्मक परिवर्तन आउने स्थानीयवासीको विश्वास छ।