• २१ असार २०८२, शनिबार

मेरिङ्देनमा देखियो पशुचौपायामा लम्पी स्किन रोग

blog

लम्पी स्किन रोगको सङ्क्रमण देखा परेको गाई । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, असार २१ गते ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपको दिङ्लास्थित एक किसानले पालेको चौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो ।

मेरिङ्देन गाउँपालिका पशु सेवा शाखाका अनुसार स्थानीय किसानले पालेको पशुचौपाया गाईमा लम्पी स्किन रोग सङ्क्रमण देखिएको छ । दिङ्लाका एक किसानले पालेको गाईमा लम्पी स्किनको शङ्कास्पद अर्थात मिल्दोजुल्दो लक्षण देखा परेको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार सङ्क्रमण देखिएको गाईलाई १०५ डिग्रीसम्म ज्वरो आएको र गाईले घाँस दानापानी खान छोडेको पाइएको छ । लम्पी स्किन रोग परीक्षण गर्ने किट गाउँपालिकामा नभएका कारण परीक्षणमा समस्या भएको बताइएको छ । जिल्लामा लम्पी स्किन रोग परीक्षण गर्ने ल्याव नहुँदा नमुना सङ्कलन गरी परीक्षण गर्न विराटनगर पठाउनुपर्ने अवस्था शाखा प्रमुख श्रेष्ठको भनाइ छ ।

यता लम्पी स्किन रोगको लक्षण देखिएपछि सङ्क्रमित गाईलाई छुट्टै ठाउँ वा ग्वालीमा राखिएको बताइएको छ । झिँगा, लामखुट्टे, किर्ना, भुसुनालगायतको टोकाइबाट अन्य पशुचौपायामा रोग सर्न सक्ने भएकाले सतर्कता अपनाउन गाउँपालिकाले किसानहरुलाई आग्रह गरेको छ । पशुचौपायामा लाग्ने सङ्क्रामक रोग लम्पी स्किन फैलिन नदिनलाई लक्षण देखिएका पशुचौपाया भन्दा अन्य पशुचौपायालाई टाढा राख्ने, गोठ तथा ग्वालीको सरसफाइमा ध्यान दिनुपर्ने पशुसेवा शाखाले जनाएको छ ।